बार्सिलोना : स्पेनको बार्सिलोनामा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा गरिएको छ।
हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको छ भने एक सय जना घाइते भएका बताइएको छ।
भ्यानबाट भएको आक्रमणमा परी ती नागरिकको ज्यान गएको एकजना स्पेनिस अधिकारीले जानकारी दिएका छन्।
स्पेनका गृहमन्त्री जोकिम फोर्नले घटना आतङ्ककारी नै भएको र यसमा संलग्नहरुको खोजी भइरहेको बताए।
बिहीबार अपराह्न पाँच बजे सवसाधारणको बाक्लो उपस्थिति रहेको स्थानमा भ्यान लगेर ठोक्काई हमला गरिएको थियो।
स्पेनमा भएको निकै लामो समयपछिको यो ठूलो हिंसात्मक हमला हो। सन् २००४ पछि स्पेनमा पहिलो पटक यस्तो हिंसात्मक हमला भएको हो।
हमलाको जिम्मेवारी कुनै समूह वा व्यक्तिले पनि लिएको छैन।
यसैबीच, हमलाको विश्वव्यापी निन्दा गरिएको छ। हमलाको निन्दा गर्दै त्यसमा संलग्नहरुमाथि कडा भन्दा कडा कारबाही गर्न विश्वका नेताहरुले माग गरेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आतङ्ककारी हमला गरी १३ जना नागरिकको ज्यान लिने काम मानवता विरोधी जघन्य अपराध भएको बताए।
उनले यस्तो आतङ्ककारी हमलाको तत्कालै अन्त्य हुनुपर्नेमा जोड दिँदै यसमा संलग्नहरुलाई कानुनी कठघरामा ल्याउन स्पेन सरकार सफल हुने अपेक्षा गरेका छन्।
त्यसैगरी क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले पनि आतङ्ककारी हमलाको निन्दा गरेका छन्।
प्रेस विज्ञप्ति प्रकाशन गर्दै प्रधानमन्त्री जस्टिनले यस्ता प्रकारका आतङ्ककारी क्रियाकलापहरुका विरुद्धमा क्यानडा अन्तर्राष्ट्रिय समुदायसँग ऐक्यबद्ध भएर लड्ने पनि बताए।
यसैगरी आतङ्ककारी हमलाको डेनमार्कका प्रधानमन्त्री लार्स लुक्के रसमुसेनले पनि कडा शब्दमा निन्दा गरेका छन्।
उनले आतङ्कवादलाई विश्वव्यापी रुपमा नै निर्मूल पार्न आवश्यक जस्तोसुकै कामगर्न पनि डेनमार्क तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरेका छन्। रासस/सिन्ह्वा