PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

गुटको कब्जामा रहेको पत्रकार महासंघको महाधिवेशन



किशोर नेपाल

गुटको कब्जामा रहेको पत्रकार महासंघको महाधिवेशन

नेपाल पत्रकार महासंघको पहिलो निर्वाचित सभापतिका हैसियतले भदौ ४ गते शुरु हुने पत्रकार महासंघको अधिवेशनका सन्दर्भमा केही प्रश्न उठाउनु जायज हुने ठानेको छु। अहिले पत्रकारिता वा सूचनाकर्ममा लागेका सबैले नेपाली पत्रकारिताको इतिहास थाहा पाएका छैनन्। सूचना प्रचार प्रसारको सामान्य काम र नेताहरुलाई गालीगलौज गर्न पत्रकार हुनैपर्छ भन्ने आवश्यक पनि छैन। त्यति काम त निजामति सेवाको कारिन्दा बन्ने योग्यता पुगेका जो कोहीले पनि गर्न सक्दछन्। नेपाली पत्रकारिता अहिले बींड नभएको बन्चरो जस्तो भएको छ – भुत्तिएको, खिया लागेको र फलामको पाप्रा उप्किदै गएर कुहिन लागेको। बींड नभएको बन्चरोको प्रयोग हुनसक्दैन। उही कसैको टाउकोमा ताकेर हाने मात्रै हो।

पत्रकारिताको तुलना बींड बिनाको बन्चरोसँग गर्नु कतिका लागि सम्यक नहोला। तर, नेपाली जनताका लागि बन्चरो जति पनि हितकारी हुन सकेको छैन नेपाली पत्रकारिता। नेपाली पत्रकारितामा हण्डी प्रथा चालु रहेको छ। पत्रकारितामा लागेका जवानहरुले सरकारको हित हुने गरी सँधै सरकारको विपक्षमा लेखेका छन्। सरकारको हितमा काम गरेका छन्। लेख्ने बेलामा श्रमिकको कुरा लेख्ने र मालिक रिझाउने पत्रकार छन् नेपालमा। यतिबेला पत्रकारिता राजनीतिक दलहरुको गुमास्ता बनेका छन्। नेपाली पत्रकारितामा परिवर्तन गर्हित विषय बनेको छ। पत्रकारिता शास्त्रका अधिकांश गुरुजन र भाष्यकारहरु संस्कार, संस्कृति र परम्परालाई पछ्याउँछन्। परिवर्तनसँग डराउँछन्। त्यसैले पनि अनुसन्धानका गर्भबाट निस्किएका कुनै शास्त्र नेपालमा पढाइँदैन। नोम चोम्स्की टेररिष्ट कहलाउँछन्। प्याराफ्रेजिंग र कटपेष्टको जमानामा दुःख गरेर साध्य पनि लाग्दैन।

महासंघसँग जोडिएको जमातमा कति पत्रकार छन् र कति संचारकर्मी छन भन्ने छुट्याउनु अब सम्भव छैन। ‘म सानै उमेरदेखि कथा कहानी कविता लेख्थेँ। एसएलसी पास गरेपछि काकाले पत्रकारितामा लगाइ दिनुभयो’ भनेर आफनो परिचय दिने प्रतिभावानहरुको कुनै कमी छैन नेपाली पत्रकारिता संसारमा। काकामात्रै किन ? उतिबेला दाइले सरकारी पत्रकारितामा ठेली दिनुभएको भाइले अहिले पेन्सन पकाइसकेको छ। सामान्यतः गरीखाने वर्गको पत्रकार भएको भाइले साहू महाजन चिनेको छ। मन्त्रालयतिर सोर्स भिडाउन सक्छ। जिल्लामा जाँदा त्यहाँका कर्मचारीलाई थर्काउने शैली छ ऊसँग। ऊ महासंघको महाधिवेशनमा भाग लिन्छ। पार्षदको रुपमा पार्टीको दृष्टिमा सुयोग्य ठहरिएको एउटा उम्मेदवार र उसको टीमलाई भोट दिन्छ। भोलिपल्ट काठमाडौको तमाशा हेर्छ। खर्च जुटाउँछ र घर फर्किन्छ। चार भन्ज्याङभित्रको काठमाडौँ अहिले पनि लाखौंलाख नेपालीको आकर्षणको केन्द्र हो। सूचना मन्त्रालयको प्रेस–प्रतिनिधि प्रमाणपत्र लिनका लागि पनि वर्षको एकपटक काठमाडौंको संचारग्रामस्थित सूचना विभाग आउनै पर्दछ। यसैले त निरन्तर छ नेपाली पत्रकारिता।

संचार ग्राम। नाम कति सांगीतिक छ। कति संगीतमय। संचार ग्राम। तर, यसका आफनै ऐवहरु छन्। संचारग्राम मठाधीशहरुको कब्जामा छ। मठाधीशहरुका बीच आपसमा विषम द्वन्द्वहरु छन्। एकथरि पत्रकारहरु संचार ग्राममा आश्रित छन्। संचार ग्राममा पत्रकार महासंघको यो भव्य भवन हुने थिएन भने यी पत्रकारहरु कहाँ आश्रित रहन्थे?

पछिल्ला हरेक समयमा पत्रकारहरुको महासंघ कुनै एउटा गूटको कव्जामा छ। कुनै एउटा राजनीतिक दलको दलालीको एक्सटेन्सन बनेको छ। फ्लेक्समा हँसिलो अनुहार झुण्ड्याएर पत्रकारहरुको ‘भविष्य’ कोरल्दैछ। तर, यसको कोरल्ने पध्दति छैन। कुनै नियम, कानून,पध्दति, बन्धन र बाध्यतासँग यो बाँधिएको छैन। यति हो कि संचारग्राम बौध्दिक व्यक्तिहरुको विचारले होइन, कुस्तीवाजहरुको शक्तिले चलेको छ। अपराध अनुसन्धानको क्रममा स्टींग अपरेशनमा सक्रिय देखिएका दलालहरु महासंघको उम्मेदवार बन्न योग्य ठानिएपछि बाँकी कुरा गर्नु नै किन ? अहिले पत्रकार महासंघ गँजडीहरुको अखडामा परिणत भएको छ। यसको नामसँग जोडिएका स्वतन्त्रताका आकांक्षा र आग्रहहरु धमिलिएर उडी सकेका छन्। ‘रियल’ केही बाँकी छैन। भर्च्युअलमा बाँच्न खोज्दैछ महासंघ।

यसपालिको महाधिवेशनमार्फत् महासंघलाई कब्जामा लिन कांग्रेस बाहेकका राजनीतिक दलहरु उतर्सिएर लागेका छन्। माओवादीसँग सम्बन्ध सुद्दृढीकरणका लागि कांग्रेसले पत्रकार महासंघको चुनावमा माओवादीलाई साँचो–ताल्चा बुझाएको छ।  प्रचण्ड प्रधानमन्त्री भएका बेला उनका सल्लाहकार रहेका गोविन्द आचार्य माओवादी–कांग्रेसको आधिकारिक हकदार बनेका छन्। उनलाई एमाले भित्रका बलिया दादाहरुले काखी च्यापेको सुनिएको छ। माओवादी भित्रैबाट उनको समर्थन कमजोर रहेको बताइन्छ। माओवादीकै झण्डामुनि उभिएका उजीर मगर समानान्तर उम्मेदवार बनेका छन्। पत्रकार महासंघभित्रका जनजाति उनको पक्षमा उभिए भने त्यसलाई असहज मान्न सकिन्न।
 
नेपाली पत्रकारिताका पुराना खेलाडी तीर्थ कोइराला महासंघको अध्यक्ष पदका उम्मेदवार देखिएका छन् एमाले प्रतिनिधिका रुपमा। पन्चायतकालीन सत्तापक्षसँग निकट सम्बन्ध रहेको थियो उनको। त्यो समयमा सत्तापक्षको निकट नभएसम्म समाचार बनाउने काम कठिन थियो। ‘सबैका लागि भरलाग्दा’ थिए तीर्थ कोइराला। अहिलेको समयमा उनको मात्र होइन, कुनै पनि पत्रकारको भर मान्नेहरुको जमात छैन। तैपनि, उनी यो पटक बलिया उम्मेदवारका रुपमा गनिएका छन्। एमाले नेताहरु केपी ओली र माधव नेपालको फ्यूजन गराउन सक्ने उनको व्यक्तित्व स्थापित हुँदैछ यतिबेला। तीर्थ राजावादी र एमालेका बीचको फ्यूजन कलामा माहिर छन् : विचारले उदार, व्यवहारले अनुदार। 
पत्रकार महाधिवेशनका बेलामा पत्रकार हताहतीको संख्या बढ्ने गरेको छ । यो पटक पनि त्यो हताहतीको रोग युनियन, चौतारी र सेन्टर सबैतिर दोहोरिएको छ।
 
यो महासंघ किन चाहियो ? यो मूल प्रश्न नसोधी टिप्पणीको अन्त्य गर्नु जायज लागेन मलाई। वास्तवमा किन चाहिएको छ यो भीमकाय संस्था? विभिन्न सैध्दान्तिक धागोमा जेलिएका पत्रकारहरुका लागि एउटा साझा मन्चका रुपमा महासंघ चाहिएको हो। अब यो महासंघ सबै राजनीतिक दललाई चाहिएको छ। अहिलेसम्म महासंघले के गर्‍यो? यो कुनै प्रश्न रहेन । किनभने सरकारको सहयोग बिना त उसले पात पनि हल्लाउन सक्दैन।
 
महासंघको यो खेदजनक अवस्थामा त्यतिबेलासम्म परिवर्तन आउन सक्दैन, जबसम्म विचार अग्रभागमा स्थापित हुँदैन। देशको राजनीति नसुध्रिएसम्म पत्रकारिता पनि नसुध्रिने त सजिलो कुरा हो। पत्रकारिताले राजनीतिक वृत्त र प्रवृत्तिमा आमूल परिवर्तन ल्याउने कि नल्याउने? मूल प्रश्न हो यो। यो महाधिवेशनबाट यो प्रश्नको जवाफको अपेक्षा गर्न सकिँदैन। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell