PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

यसरी राखियो नाम जुम्ल्याहाको– वर्षा र बादल, किन सन्नाटा छ अझै मुखिया गाउँमा ?



अनन्तराज न्यौपाने

यसरी राखियो नाम जुम्ल्याहाको– वर्षा र बादल,  किन सन्नाटा छ अझै मुखिया गाउँमा ?

विराटनगरः गाउँमा सिङ्गिया खोलाको बाढी पसेर घर बगाएका दिन अर्थात् साउन २८ गते साँझ १७ वर्षकी बबियादेवी मुखियाले जुम्ल्याहा छोरा पाएको १५ दिन भएको थियो। 

हिन्दु भएपनि यो समुदायमा ११ दिनमा न्वारान गरेर नाम राख्ने चलन छैन। कलिलैमा सुत्केरी भएकी बबियालाई आफ्ना जुम्ल्याहा सन्तानको नाम राख्न हुटहुटी थियो। 

राज मिस्त्री काम गर्ने श्रीमान् सन्तालाई उनले एक–दुई पटक सोधिन्, ‘कि नाम राख्वे बच्चाके बतान ?’ ‘ज्याहा राख्, कि मतलब हमरा ?’ (जे राख् मलाई के मतलब ?) सन्ताले त्यति चासो देखाएनन्।

पहिलेको भाथिगछ गाविस वडा नं. २ र अहिलेको जहदा गाउँपालिकाको वडा नं. ३ मुखिया टोलमा सिङ्गिया खोला पसेर घुँडाघुँडा पानी आउन थालेपछि सबैको एकमत बन्यो– नजिकैको रामजानकी प्राथमिक स्कुलमा शरण लिन जाने।

गाउँलेसँगसँगै सन्ता र बबियाको जोडी पनि घरका थाङ्नाथुङ्नी र भाँडाचिन्डा बोकेर स्कुल आइपुग्यो। साथमा १५ दिनका जुम्ल्याहा छोराछोरी छँदै थिए।

गाउँका १३ घरपरिवार स्कुलमा जम्मा भए। सकेजति घरका सामान ओसारे। कम्मरसम्म पानी आउन थालेपछि कोही निस्केन स्कुलबाट । कम्मरसम्म पानी आउनु खतराको सङ्केत थियो। 

अघिल्लो दिन अर्थात् २७ गते साँझ रोटी खाएर सुतेकी बबियाका घरमा २८ गते केही पाकेन। बबियामात्र किन, कसैका घरमा केही पाकेन । पकाउने बेलामा सबैका चुह्लाले जलसमाधि लिइसकेको थियो। 

साँझ झपक्कै परिसकेको थियो, पानी रोकिएको थिएन । रोइरहेका जुम्याहा सन्तानलाई दिनभरकी भोकी बबिता दुई तिरकै लाम्टा चुसाउँदै थिई। यतिबेला भने बाबु सान्ता पनि द्रवित भए।

‘ए बबिया सुन्’, अलि उँचो स्वर निकालेर भने, ‘अब बच्चाके नाम हम रख्बो । बेटाके नाम हेते बादल, आ बेटीके नाम हेते वर्षा।’
यसरी जुम्लाहा दाजु–बहिनीको नाम राखियो– बादल र वर्षा। 

बादल र वर्षाले बौलाहा बाढीको संस्मरण अब आफ्नो जीवन कालसम्म धान्नेछन्। प्रधानाध्यापक सिद्धु राजवंशीका अनुसार २०४६ सालमा स्थापना गरिएको यस विद्यालयमा ३ सय २० विद्यार्थी छन् । जसमध्ये छात्राको सङ्ख्या १ सय २५ छ। 

‘विद्यालयभित्र पनि बाढीको पानी पस्यो’, राजवंशीले देखाउँदै भने, ‘दराजका आधा फाइल भिजायो । हाजिर खाता, रसिद, चक, डस्टर र अरु पढाउने सामग्री सबै काम नलाग्ने भए।’

शुक्रबार दिउँसो कक्षा ५ को ढोकैमा कुन्ती मुखिया चुलो बालेर भात पकाउँदै थिइन्।‘अस्ति वडाध्यक्षहरू आएका थिए’, कुन्तीको दुखेसो थियो, ‘५ किलो चामल, १ किलो दाल र २ किलो आलु अनि आधा लिटर नुन र १ पाउ मसला त दिएर गए । तर आधामात्र भाँडाकुँडा ल्याउन भ्याइयो । दाउरा छैनन् । बाटाका झिक्राझिक्री र भाटा खोजेर खाना बनाउनु परेको छ।’

कक्षा ४ को ढोकामा १० वर्षकी सन्जु राय आफ्नी ३ वर्षकी बहिनीलाई भात खुवाउँदै थिइन् र सँगसँगै आफू पनि त्यही थालबाट खाँदै थिइन्। 
भात खासमा भात मात्रै थियो । दाल–तरकारी थिएन। नुन र पानीसित मुछेर खाँदै थिए। 

वर्ष ५ का निबु मुखिया स्कुलको प्राङ्गणमा नाङ्ग्रै निस्फिक्री घुम्दै थिए  सहरबाट गएको राहत टोली देखेपछि उनी डराएजस्तो(नर्भस) भए र आमाका काखमा टाँसिए। पत्रकारहरूले फोटो खिचुन्जेल उनलाई आफू नाङ्गो भएको थाहा थिएन।

‘एई, लाज नैलागैछै तोरा ?’ आमा सन्नीदेवीले हकारेपछि भने उनले हातले लाज छोपे। यो गाउँमा गर्मी याममा प्रायः केटाकेटी नाङ्गै घुम्छन् फिर्छन्  बाढी आएको साँझ पनि निबु नाङ्गै थिए  बाढीमा बाउ सुरेशले अगाडिबाट तानेको गाईको पुच्छर समातेर उनी नाङ्गै विद्यालयसम्म आए  गाईबाख्रा, ड्रम, चामल, भाँडा भन्दाभन्दै निबुका सबै लुगा बाढीले लगेछ ।

‘राति मेरो साडी ओढाएर सुताउँछु’, आमा सन्नीले गहभरि आँसु पारेर भनिन्, ‘आजैदेखि बाउ मिस्त्रीको काममा जान थालेको छ  ठेकेदारसित पेश्की मागरे भए पनि गन्जी र कट्टु ल्याइदिन्छ ।

स्कुलको प्राङ्गण र कक्षा कोठा त भन्नलाई मात्र हो  प्राङ्गणमा कतै थाङ्ना र लुगा सुकाएको भेटिन्छ  कतै चुह्लो बाल्न बाँसका भाटा र झिक्राझिक्री थुपारिएको छ  कतै ड्रम र कतै पुराना कर्कटपाताका थुप्रा छन्।घर बगाउँदा बगाउँदै जे ल्याउन सके त्यही ल्याए उनीहरूले।

सबैजसो कक्षा कोठा पीडितहरूले ओगटेका छन् । स्कुलका बेन्च जोडेर त्यसैमाथि रात कटाएको आज सातौँ रात हो।

‘शनिबार बैठक गरेर आइतबारदेखि स्कुल खोल्ने कुरा छ’, प्रधानाध्यापक राजवंशीले भने, ‘आखिर पढाइ त सबैको विग्रिएको छ । त्यसैले शनिबार वडामा सर्वदलीय बैठक राखिएको हो।’

आइतबारदेखि विद्यालय खुलिहाल्यो भने शरणार्थी बनेको १३ घरपरिवारको बसोबासको टुङ्गो के हुने हो ? यही प्रश्नले यति बेला मुखिया टोलका बासिन्दाका अनुहारमा सन्नाटा छ।   


  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell