PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

अब व्यक्तिगत घरायसी लिखत कागज पनि अभिलेखालयमा राखिने



रासस

काठमाडौँ  :  राष्ट्रिय अभिलेखालयले राष्ट्रिय महत्वका व्यक्तिगत वा संघ संस्थाका घरायसी लिखत कागज पनि संकलन गर्ने तयारी थालेको छ। 

अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गले पुराना घरायसी लिखित कागजातले राष्ट्रिय महत्व दर्शाउने भएकाले त्यस्ता कागजलाई संकलन गरी संरक्षण गर्नको लागि तयारी गरिएको जानकारी दिए। 

जिल्ला–जिल्लामा टोली खटाई अभिलेखालयले त्यस्ता कागज संकलन गर्नेछ। उनका अनुसार लालमोहर लागेका पत्र, पञ्जा छाप र राज्यले कुनै व्यक्तिलाई जग्गा दिँदा गरेको कागजजस्ता पुराना व्यक्तिगत हस्तलिखित कागजातलाई अभिलेखालयले संकलन गरी संरक्षण गरिने छ । 
‘‘कुनै व्यक्तिले अभिलेखालयमा आएर आफैँ संरक्षण गर्नुहोस् भनेर पनि दिन सक्दछन्’ उनले भने–‘‘त्यसका अलावा हामी आफैं जिल्ला–जिल्लामा टोली खटिई संकलन गर्ने छौँ।’ उनले त्यस्ता व्यक्तिगत लिखितलाई किनेर भएपनि ल्याइने बताए। 

यस्तै, अभिलेखालयले व्यक्तिले राखेको धार्मिक ग्रन्थलाई पनि संकलन गर्ने भएको छ। टोलीमा जिल्लामा गई व्यक्तिसँग भएका पुराना धार्मिक ग्रन्थलाई पनि संकलन गर्ने तयारीसमेत गरेको छ।

व्यक्तिको घरमा रहँदा ती धार्मिक ग्रन्थको संरक्षण नहुने भएकाले उनीहरुको मञ्जुरीमा अभिलेखालयमा ल्याई संरक्षण गरिने छ । 

अभिलेखालयमा राजा गीवार्णयुद्धविक्रम शाहदेवका पालादेखिका करिब ३० हजार हस्तलिखित पुराना ग्रन्थ छन्। कुनै पनि लिखित कागज २५ वर्ष पूरा भएपछि अभिलेखका रुपमा त्यस्त कागजलाई लिने गरिन्छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell