PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

सुनसरी–मोरङ सिँचाइ आयोजनामा ८० करोडको क्षति, कसरी बगायो नहरले खोलाको पुल ?



अनन्तराज न्यौपाने

सुनसरी–मोरङ सिँचाइ आयोजनामा ८० करोडको क्षति, कसरी बगायो नहरले खोलाको पुल ?
फोटाः सुनसरी मोरङ सिँचाइ आयोजना

विराटनगरः मौसमविद्हरूले भीषण वर्षा र बाढीको भविष्यवाणी गर्न थालेपछि सुनसरी मोरङ सिँचाइ आयोजनाको मुख्य नहर साउन २६ गते नै बन्द गरियो।

यति पूर्वसतर्कता नअपनाइएको भए झन् ठुलो खतरा निश्चित थियो। किनकी पूर्वाञ्चलकै सबैभन्दा ठूलो सिँचाइ आयोजना सुनसरी मोरङ सिँचाइ आयोजनामा साउन २८ र २९ को बाढीले ८० करोडभन्दा बढीको नोक्सानी पुर्याएको छ।

नहर त मुहानमै थुनिएको थियो तर परेको पानी नहरमा भरिँदै गयो, खोलाको पानी पस्यो, धेरै ठाउँका गाउँलेले वस्तीमा, खेतमा र चउरमा भरिएको पानी नहर काटेर नहरमै हालिदिए। कुल ६० क्युमेक्स पानी बग्न सक्ने क्षमताको मुख्य नहर यसरी अटेसमटेस भयो र अन्तमा यसले लोहोन्द्रा खोलाको १ सय ५३ मिटर लामो पुल नै भत्काइदियो।

‘पुल बनाउन कम्तीमा ४० करोड लाग्छ’, आयोजना प्रमुख कुञ्जनभक्त श्रेष्ठले भने, ‘प्रारम्भिक अनुमान मात्र हामीले कुल ८० करोड क्षति भएको गरेका हौँ । सबै सूचना आएपछि क्षतिको विवरण र मूल्य बढ्न सक्छ ।’

कसरी भत्कायो नहरले पुल ?
आयोजना प्रमुख श्रेष्ठका अनुसार सुनसरीको चतरादेखि मोरङको केरौनसम्म गरी मुख्य नहर ५३ किलोमिटर लामो छ। जसमध्ये ४२ किलोमिटरमा पर्ने कसेनी भन्ने स्थानमा लोहन्दा खोला र मुख्य नहरको भेट हुन्छ। यही स्थानमा लोहन्द्रा खोलालाई पक्की डुँड बनाएर माथिबाट बगाइएको छ र यसमुनि क्रङ्क्रिटको सुरुङ बनाएर तल सुरुङैसुरुङ मुख्य नहर लगिएको छ। 

यसलाई इन्जिनियरिङ भाषामा ‘साइफन’ भनिन्छ। यस्तो ‘साइफन’ १ सय ५३ मिटर छ। बाढीले यही साइफन र मास्तिर खोलाको पुल भत्काएका कारण क्षतिको अङ्क ठूलो देखिएको हो।

‘महेन्द्र राजमार्गमा पर्ने झुम्काबाट उत्तर बग्ने दत्तकिच्चा खोलाको बाढी बग्दै बग्दै आएर २७ गते राति नै मुख्य नहरमा पस्यो’,  प्रमुख कुञ्जनको भनाइ थियो, ‘झुम्कादेखि उत्तर मुख्य नहरलाई २ ठाउँ मानिसले काटे र गाउँमा भरिएको पानीलाई निकास दिए। यसरी विभिन्न १७ ठाउँमा मुख्य नहर काटेर वस्तीको पानी हुलिएको छ । यसबाहेक विभिन्न खोल्साखोल्सीको पानी जाने ठाउँ पनि त्यस दिन मुख्य नहर नै भयो।’

ढिलोमा पनि भदौ २२ गतेसम्ममा मुख्य नहरमा पानी छाड्ने अभियानका साथ काम भइरहेको आयोजनाले जनाएको छ।
लोहन्दासम्म मुख्य नहरको पानी ल्याउन सकिने कुञ्जनले बताए।

‘धानमा पानी चाहिने समय अझै छ, असोजको पहिलो हप्तासम्म चाहिन्छ’, उनले भने, ‘यसका लागि भदौ २२ गतेभित्र पानी छाड्ने तयारीमा छौँ। अस्थायी मरम्मतको काम सुरु भइसकेको छ।’

आयोजनाको एक मुख्य र २२ शाखा नहरबाट दुई जिल्लाको गरी ६८ हजार हेक्टर क्षेत्रमा सिँचाइ हुन्छ। लोहन्द्रामा मुख्य नहर नै फुटेपछि १२ हजार ३६५ हेक्टर क्षेत्र नहरको सिँचाइबाट वञ्चित भएको छ। अब कुल ५५ हजार ६ सय ३५ हेक्टरमा मात्र सिँचाइ सम्भव भएको श्रेष्ठले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell