इलाम : दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको यस जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ।
अघिल्लो आर्थिक वर्ष २०७२/०७३ मा एक लाख २१ हजार ५६२ मेट्रिकटन दूध उत्पादन भएकोमा गतवर्ष २०७३/०७४ मा एक लाख २३ हजार ७४० मेट्रिकटन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालय इलामले जनाएको छ।
व्यावसायिक गाईपालनमा वृद्धि भएसँगै पाँच वर्षदेखि निरन्तर दूध उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ। पशुपालन व्यवसायमा किसानको आकर्षण बढ्नु, सरकारी लगानी बढ्दै जानु तथा कृत्रिम गर्भाधानले गाईभैँसीको नश्ल सुधार तथा उन्नत जातका घाँसखेतीले दूध उत्पादनमा वृद्धि भएको हो।
उत्पादित दूध बिक्रीबाट जिल्लामा यो वर्ष चार अर्ब ७० करोड ६१ लाख भित्रिएको छ। दैनिक ३६ हजारदेखि ४० हजार लिटर दूध विराटनगरस्थित दुग्ध वितरण संस्थानमा बिक्री हुँदै आएको कार्यालयका पशुसेवा प्राविधिक डिकबहादुर कार्कीले जानकारी दिए।
त्यस्तै निजीस्तरबाट दैनिक २० हजार लिटर दूध झापा, विराटनगर, इटहरी बिक्री हुन्छ। जिल्लाका ५५ हजारभन्दा बढी किसानले व्यावसायिक गाई तथा भैँसीपालन गर्दै आएका छन्।
पशुआहाराका लागि किसानले टिओसेन्टी, जै, बर्सिम, भेज, नेपियर, सिटेरिया जातका उन्नत घाँस लगाएका छन्। इलाममा दूध सरदर ३८ देखि ४५ रुपैयाँ प्रतिलिटरले बिक्री हुने गरेको छ।
दुग्ध विकास संस्थानले जिल्लाका बिब्ल्याँटे, पूवाखोला, शान्तिडाँडा, लक्ष्मीपुर, तीनघरे र फिक्कल तथा कुट्टीडाँडालगायत १६ वटा दुग्ध चिस्यान केन्द्रबाट दूध ढुवानी गर्दै आएको छ।
जिल्लाका ग्रामीण भेगमा उत्पादित दूध स्थानीय डेरी उद्योग, सहकारी संस्था र त्यस्ता क्षेत्रमा खुलिएका निजी तथा सहकारी कारखाना, ललीपप उद्योग र निजीस्तरका डेरीले किसानले उत्पादन गरेको दूध खरिद गर्दै आएका छन्।
घरेलु तथा साना उद्योग विकास समिति इलामका अनुसार जिल्लामा १०० वटा छुर्पी, नौवटा ललीपप, चीज २४, एक आइस्क्रिम र दुई वटा ठूला डेरी उद्योग सञ्चालनमा छन्।
यीबाहेक दर्ता नभई पनि जिल्लामा दर्जनभन्दा बढी डेरी उद्योग समेत सञ्चालन भइरहेका छन्। ती उद्योगमा वार्षिक ८५ करोड रुपैयाँ भन्दा बढीको दूधजन्य परिकारको कारोबार भएको छ।
दूधबाट निर्मित घ्यू प्रतिकिलो ५००, छुर्पी ८००, ललीपप प्रतिकिलो १० हजार रुपैयाँमा बिक्री हुँदै आएको छ। रासस