PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

‘सुनौला हजार दिन’बारे शिक्षा दिँदै कर्णालीका आमाहरु



रासस

‘सुनौला हजार दिन’बारे शिक्षा दिँदै कर्णालीका आमाहरु

  • शुरबहादुर सिंह 
जुम्ला :  जुम्लाका ग्रामीण क्षेत्रका आमाहरु आफ्ना बस्तीका महिलालाई ‘सुनौला हजार दिन’ को महत्वबारे शिक्षा दिन थालेका छन्। तिला गाउँपालिका–३ लुम्सेरा गाउँका आमाहरु ‘सुनौला हजार दिन’ बारे आफैँले शिक्षा दिन थालेपछि विशेषगरी गर्भवती आमा र शिशुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्दै गएको छ। 

‘सुनौला हजार दिन’ सञ्चार अभियान, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथ सञ्चार केन्द्रले विभिन्न बैठक भेलामा दिएको ज्ञानका सीपका आधारमा शिक्षा दिन थालिएको महावै आमा समूहकी अध्यक्ष कालिका भट्टराईले जानकारी दिइन्। उनले भनिन्,‘हामी आमा समूहको बैठक राख्छौँ, आमा र शिशुको पोषित कसरी हुन्छन् भनेर पोषणयुक्त खानाका विषयमा छलफल गर्छौं।’

प्रौढ कक्षा पढेर सामान्य आफ्नो हस्ताक्षर गर्नसक्ने समूहका आमा सदस्य सुनेर सिकेका आधारमा सुनौला हजार दिनका विषयमा घर बस्तीमा गएर सिकाउँछन्। आफूहरुले बूढापाका, सासू बुहारीका साथै विवाह गर्न योग्यका जोडीलाई पनि ‘सुनौला हजार दिन’ महत्व र प्रभावबारे बुझाउँदै आएको उनको भनाइ थियो। 

त्यसमा तिला–३ का स्वयंसेविका सत्यदेवी भट्टराई र देवी गिरीले आमाहरुलाई यसका विषयमा सहजीकरण गर्दै आएको उनको भनाइ थियो। 

स्वयंसेविका देवी गिरीले गर्भवती भएको नौ महिना बराबर २३० दिन र बच्चा जन्मेदेखि दुई वर्षसम्मको ७३० दिन गरेर एक हजार दिन हुन्छ भनेर गाउँका सबैलाई सिकाउँदै आएको बताइन्। 

यो अवधिमा बच्चाको ८० प्रतिशत दिमागको विकास हुने भएकाले यसलाई ‘सुनौला हजार दिन’ भनिएको कुरा प्रष्ट्याउँदै आएको उनको भनाइ थियो। 

त्यसैगरी, स्वयंसेविका सत्यदेवी भट्टराईले ‘हरेक बार, खाना चारदेखि वृद्धि विकास गर्ने, रोग नलाग्ने र शक्ति दिने’ खानाका बारेमा आफ्नो वडाका बस्ती बस्तीमा जानकारी दिँदै आएको बताइन्। 

उनले गर्भ रहेदेखि नौ महिनासम्म लगतार चार पटक गर्भजाँच गर्न, आइरन चक्की खान, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुन र विभिन्न खोप लगाउनेबारे पनि बुझाउँदै आएको बताइन्। 

त्यतिमात्र नभएर उनीहरुले गरिब घर परिवारका गर्भवती महिलालाई घरमा उपलब्ध स्थानीय अन्न गेँडागुडी, सागपात र अन्य चीज मिलाएर खान सुझाव दिने गरेका छन्। 

यता डेढ वर्षीय बच्चाकी आमा रामदेवी हमालले पछिल्लो समयमा स्वयंसेविका र सुनौला हजार दिन कार्यक्रमले हामी आमा र बच्चालाई स्वस्थ हुन सहयोग पुगेको बताइन्। 

सुनौला हजार दिन सञ्चार अभियान जुम्लाका जिल्ला संयोजक धर्मराज शाहीले कार्यक्रम लागू भएका साविकका १० गाविसमा राम्रो प्रभाव पर्दै गएको बताए। उनले विशेषतः गर्भमा रहेदेखि नौ महिनाका महिला र दुई वर्ष उमेर पुगञ्जेलसम्मका बच्चा र आमाको स्वास्थ्य अवस्था सुरक्षित गर्न यो कार्यक्रम सञ्चालन गरिएको बताए।

उनका अनुसार जुम्लाका छुमचौर, गज्र्याङ्कोट, तलिउम, तातोपानी, कुडारी, रारालिही, घोडेमहादेव, महावैपाथरखोला, कालिकाखेतु र बड्की गाविसमा सञ्चालित यो कार्यक्रमअन्तर्गत १४५ गर्भवती महिलाको पोषण सुरक्षामा ध्यान दिइएको छ। 

वरिष्ठ जनस्वास्थ्य अधिकृत अंगदबहादुर शाहीले महिलाले आफ्नो भाषा र व्यावहारिक रुपमा दिएको स्वास्थ्य शिक्षाको प्रभाव सकारात्मक परेको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell