टिप्पणी
२६ साउनमा नयाँ शक्ति पार्टीको आन्तरिक सांगठनिक जीवनमा ठूलै कम्पन आउन लागेको संकेत गरेका थिए सह-संयोजक देवेन्द्र पौडेलले। करिब ३० वर्षे राजनीतिक कोर्षमा सधै संयोजक डा. बाबुराम भट्टराईका अभिन्न सहयोगी र नयाँ शक्ति निर्माण अभियानका मुख्य एक टेको बनेका पौडेलको साथमा थिए नेता महेन्द्र पासवान, बामदेव क्षेत्री, कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अन्सारी, लाल किरण, शमिर्ली लामा, रत्न राणा र रविन्द्र सुनुवार लगायत।
पार्टीको गति, मति, थिति र विधि नमिलेकाले जराबाटै समस्याको समाधान खोज्ने खबरदारी पनि पौडेलहरुले गर्दै थिए। तर नयाँ शक्तिको मक्काउँदै गएको आन्तरिक एकतामा जब पौडेलहरुको मागमा २४ घण्टे स्पष्टीकरणको डण्डा वर्षाए संयोजक भटटराईले तब नयाँ शक्तिको आन्तरिक कम्पन भाद्र २ सम्म आइपुग्दा सुनामी शैलीमा असरल्ल भएको छ।
असन्तुष्टहरुले नेतृत्वलाई स्पष्टीकरण होइन, हामी पनि केही भन्दा कम छैनौं भन्ने शैलीमा नयाँ शक्ति पार्टीभित्र असन्तुष्ट नेताहरुले बृहत ध्रुवीकरण केन्द्रीय संयोजन समिति गठन गरेर संयोजक डा. भट्टराईको कारबाहीकै प्रतिवाद गरे। देवेन्द्र पौडेलसहितका नेताहरुले बनाएको ध्रुवीकरण समिति जस्तालाई त्यस्तै जवाफ मात्रै होइन, उनीहरुको माओवादी केन्द्रमा संगठित विलयको पूर्वाभ्यास पनि हो। बामपन्थी राजनीतिका ज्ञाता विश्लेषक डा. सुरेन्द्र केसीका शब्दमा पौडेलहरुले प्रचण्डसँग पार्टीमा फर्कने कुरो मिलाएर नै यो सबै गरिरहेका हुन्।
नयाँ शक्ति पार्टीका सह-संयोजक तथा संस्थापक पौडेलको संयोजकत्वमा बनेको समितिले पार्टीलाई अन्य राजनीतिक कार्यदिशातर्फ उन्मुख गराउने भाषा सहितको प्रेस विज्ञाप्तिलाई माओवादी केन्द्रमा सामूहिक विलयको लिखित प्रस्तावका रुपमा अर्थ लगाउनेहरु पनि धेरै छन्। उनीहरुले यो संस्थापन विरुद्धको संगठित प्रतिरोध अघि बढाउँदै गर्दा केन्द्रीय कार्य समितिको बैठकमा अबको राजनीतिक गन्तव्य, कार्यदिशा, स्पष्ट हुनुपर्ने विषयमा मौखिक र लिखित सुझाव पार्टी संयोजक बाबुराम भट्टराईलाई प्रेषित गरी छलफलका लागि हरप्रयत्न गर्दा समेत आलटाल गरेको जुन आरोप लगाएका छन्, त्यसले यो समूह अब संस्थापनसँग भावनात्मक रुपमा नै टुटिसकेको संकेत गर्दछ।
पौडेल समूहले राजनीतिक कार्यशालाबारे पार्टी मुख्य नेतृत्व गम्भीर नभएकै कारणले जानीबुझी नयाँ शक्ति पार्टीको कार्यदिशा र अन्य पार्टीको जीवनको विषयमा व्यापक छलफल होला भन्ने उद्देश्यले आफूहरुले यसअघि जारी गरेको अपील पुन: जारी गरेको खुल्लमखुल्ला बताए। र, यसैसाथ उनीहरुले संस्थापनलाई माने हाम्रा प्रस्ताव मान नत्र बाटो खाली गर भन्ने चुनौती दिएका हुन्। यो चुनौतीलाई संयोजक डा भट्टराईले स्पष्टीकरणका साथ खारेज नै गरिसकेका हुन्।
केही दिनअघि मात्रै नयाँ शक्तिका संस्थापक मध्येका एक नेता रामचन्द्र झाले पार्टी छोड्नुका कारणबारे पहिलोपोस्टसँगको अन्तर्वार्तामा भनेका थिए, 'संयोजक डा. बाबुराम नेतृत्व क्षमता नभएका असल नेता हुन्।' एमालेबाट माओवादीमा, माओवादीबाट नयाँ शक्तिमा र नयाँ शक्तिबाट पुनः माओवादी केन्द्रमा फर्केको घुमन्ते रामचन्द्रको टिप्पणीलाई सही पुष्टि गर्ने गरी नै सह-संयोजक पौडेलको यो भदौरे कदम सार्वजनिक भएको छ।
आफ्नो झण्डै १८ महिनाको प्रधानमन्त्री कालमा राजनीतिक सल्लाहकारका रुपमा साथ लिएका नेता पौडेलले नै कार्यदिशाको मामलामा संयोजक भट्टराईमाथि उठाएको चोरऔला मार्क्सवादका नेपाली व्याख्याता डा. भट्टराईमाथि चानचुने आरोप होइन। नीतिगत रुपमा नै नयाँ शक्ति न यता न उता भएको छ भन्ने पौडेलहरुको आरोपले संयोजक डा बाबुरामको पार्टीको सैद्धान्तिक धारको औचित्य माथि नै धाबा बोलेको हो। नयाँ शक्तिमा अब छोड्नेहरुको होइन, बस्नेहरुको मात्रै सूची बनाउन सजिलो हुँदै गएको आभास हुन्छ।
रामेश्वर खनालदेखि सरोज खनाल, मुमाराम खनालदेखि रामचन्द्र झाहरुको बाईबाई र खिमलाल देवकोटा वा देवेन्द्र पौडेलहरुसम्मको बर्हिगमनको तयारी नयाँ शक्तिका संयोजकका लागि सांगठानिक स्खलनका सुनामी नै हुन्।
अब केवल करिश्मा मानन्धर, गंगा श्रेष्ठ, हिसिला यमीहरुको झुण्डको भरमा नयाँ शक्तिको प्रजातान्त्रिक कलेवरको राजनीतिक डुंगा पार गर्न नयाँ शक्तिका बुढा हुँदै गएका बाबुरामलाई घनघस्याको उकालो सरह हम्मे-हम्मे पर्ने निश्चित छ।
पछिल्ला दिनमा माओवादी अध्यक्ष प्रचण्ड नयाँ शक्तिका संयोजक डा. बाबुरामलाई नै माओवादीमा फर्काउन कसरत गरिरहेका छन्। बिरामी भेट्ने बहानामा प्रचण्ड बाबुरामसँग घण्टौ एकताका प्रस्तावमा बहस गरिरहेका छन्।
तिनै प्रचण्ड आफूविरुद्धका धोबीघाटदेखि खरीपाटी भेलासम्मका चक्रव्यूह विरुद्धका सारथीहरुलाई माओवादी केन्द्रमा माथि लैजान वा अघि बढाउन रुचि देखाइरहेका छैनन्। यसले संकटमा प्रचण्डका रक्षाकवच बनेकाहरु एकातिर माओवादी केन्द्रमा नै आन्तरिक असन्तुष्टि र उत्पीडनका सिकार भइरहेका छन्।
अनि प्रचण्ड भने माओवादी तथा बामपन्थी सिद्धान्तबाटै च्यूत भएका र पार्टीगत रुपमा विघटनको डिलतिर हुत्तिँदै गएको नयाँ शक्तिका संयोजकलाई नै मुलघर फर्काउने भगिरथ प्रयत्न गरिरहेका छन्। देवेन्द्र पौडेलहरु भन्दा ज्यादा डा. बाबुरामसँगै एकताको प्रचण्ड रहर स्वदेशी बाध्यता हो कि दक्षिणी दिशानिर्देशको आज्ञा पालना? प्रस्ट हुन बाँकी छ।
तर, बामपन्थ र खासगरी माओवादी पन्थ अब नेपालका लागि डेटएक्सपाएर भइसकेको बताउँदै २ सालअघि नयाँ शक्ति बनाएका देशका पूर्वप्रधानमन्त्री डा. बाबुरामको पछिल्लो पार्टी हैसियत करिश्माहरु मात्रै नेतृत्वमा रहने पथमा खुम्चिँदै जानुले भने ढिलो चाँडो यसको पतन वा माओवादी केन्द्रमा पुर्नमिलनको विकल्प मात्रै बाँकी रहेको स्पष्ट गरेको छ।