PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

६ वर्षपछि सुरुङमार्गमा गाडी गुडाउने लक्ष्य पूरा होला?



दिनेश खड्का

६ वर्षपछि सुरुङमार्गमा गाडी गुडाउने लक्ष्य पूरा होला?
प्रतिकात्मक तस्बिर

काठमाडौं:  ६ वर्षभित्र नौविसे-नागढुंगा सडकखण्डमा सुरुङमार्ग निर्माण सक्ने लक्ष्यसाथ विस्तृत परियोजना अध्ययन (डीपीआर)को काम सुरु भएको छ।

जापानको सहयोग नियोग (जाइका)ले नियुक्त गरेको कन्सलट्यान्ट र सडक विभागको सहयोगमा डीपीआरको काम भइरहेको छ। नेपालकै पहिलो सुरुङमार्ग निर्माणका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ सहुलियत ऋण दिन सम्झौंता गरिसकेको छ। नागढुङगा-नौविसे सडकखण्ड अन्तर्गत बस्नेतछाप नजिकैको दहचोकदेखि –सिस्नेखोला २.७ किलोमिटरमा सुरुङमार्ग निर्माण गर्न लागिएको हो।

तोकिएको समयमा सम्पन्न गर्ने गरी सुरुङमार्गको अध्ययन भइरहेको सडक विभाग वैदेशिक महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार अध्ययनको काम यही वर्ष सक्ने गरी काम भइरहेको छ। अध्ययन सक्ने लक्ष्यका साथ अध्ययन तीव्र रुपमा भइरहेको समेत उनले जानकारी दिएका छन्।

नौविसे-नागढुङगा खण्डमा सुरुङमार्ग निर्माण परियोजना २०७९ भदौसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। श्रेष्ठले २०८० को सुरुवातसँगै नेपालमै सुरुङ मार्गमा गाडी कुदाउन पाइने दाबी गरे। परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन १८ महिनाभित्रमा सक्ने महाशाखाले जनाएको छ। गत जेठबाट अध्ययन सुरु भएको थियो।

प्रारम्भिक अध्ययनले सुरुङमार्ग ९.५ मिटर चौडाइको हुनेछ भने सुरुङमार्गको उचाइ झण्डै १८ फिटको हुनेछ। एउटा लेन ३.५/३.५ मिटर हुनेछ। बाँकी रहेको २.५ मिटर गाडी व्रिगिए वा कुनै समस्या आएमा रोक्ने ठाउँ हुनेछ। देशका दुर्इ महत्वपूर्ण शहरको बीचमा रहने यो सुरुङमार्गले पर्यटकीय महत्व पनि राख्ने महाशाखाको दाबी छ।

अध्ययन सम्पन्न भएपछि आयोजनाले अन्तराष्ट्रिय प्रतिस्पर्धाका आधारमा निर्माण ठेक्का लगाउने जनाएको छ। श्रेष्ठका अनुसार २०७५ भित्र ठेक्का लाग्नेछ। पहाडी भौगोलिक संरचना भएको ठाउँहरुमा सडकभन्दा सुरुङमार्ग धेरै प्रभावकारी हुने सडक विभागले जनाएको छ। ठूलो लगानी, प्राविधिक जनशक्ति, सुरक्षा, विद्युत लगायतका समस्याले सुरुङमार्ग निर्माण हुन सकेको छैन।

कुल लम्बाई २.७ किलोमिटर रहेको दहचोकदेखि सिस्नेखोलासम्म नेपाल मै पहिलो सुरुङ मार्ग हो। सुरुङमार्गले त्रिभुवन राजपथको नागढुङगा-नौविसे सडकखण्डमा हुने सवारी जामको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ। विभागले नागढुङगा-नौविसेसम्म कुल १६ किलोमिटर सडकखण्डको स्तरोन्नतीको काम गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell