काठमाडौँ: संविधान संशोधन विधेयकमाथि व्यवस्थापिका संसदमा आज पनि दफाबार छलफल हुँदैछ। साउन ३२ गते विधेयक दफाबार छलफलका लागि संसदमा पेस भएको थियो। ३२ गते संशोधनकर्ताबाट एमालेका रेवतीरमण भण्डारीले छलफलमा भाग लिएका थिए।
आइतबार पनि संशोधनकर्ताले छलफलमा भाग लिने समय पाउँनेछन्। सरकारले दर्ता गरेको संविधान संशोधन मूल विधेयकमा ५० पूरक संशोधन दर्ता भएका छन्। सत्तारुढ गठबन्धन र प्रतिपक्ष दल दुबैबाट संयुक्त र सांसदहरुका फरक–फरक संशोधन दर्ता छन्। प्रतिपक्ष गठबन्धन र सांसद्हरुका मात्र ३२ संशोधन छन्।
संशोधनकर्ताको संख्या धेरै भएकाले आइतबार दफाबार छलफलमात्र गर्ने तयारी संसद् सचिवालयको छ। विधेयकमा सोमबार मतदान गर्ने तयारी सचिवालयको छ।
मतदानमा जाँदा पहिले संशोधन प्रस्तावलाई ध्वनि मतका आधारमा छिनोफानो गरिनेछ। तर, संशोधनकर्ताले मत विभाजन माग गर्ने सक्ने व्यवस्था नियमावलीमा छ। संशोधनकर्ताले मत विभाजन माग गरेमा ‘लवी’ विभाजन गरेर नै संशोधनको छिनोफानो गर्नु पर्नेछ।
मूल विधेयक भने ‘लवी’ विभाजनबाटै मतदान हुनेछ।
विधेयक पारितका लागि संसद्मा हाल कायम रहेको संख्याको दुई तिहाइ आवश्यक पर्नेछ। संसद्मा अहिले ५९२ सांसद् छन्। जसअनुसार ३९५ सांसद्को मतले संविधान संशोधन विधेयक पारित हुन सक्ने संवैधानिक प्रावधान छ।
तर, सरकारसँग विधेयक पारितको स्पस्ट दुई तिहाइ देखिएको छैन। यसअघि कायम भएको प्रतिपक्ष मोर्चासँग १९७ मत छ। नेकपा एमाले, माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, परिवार दल, बहुजन शक्ति पार्टी, मधेश समता पार्टी, नेपाः राष्ट्रिय पार्टी संशोधनको विपक्षमा छन्। प्रतिपक्ष मोर्चासँग १९७ सांसद् छन्।
विभाजित राप्रपा संशोधनको विषयमा अनिर्णित छ। राप्रपा प्रजातान्त्रिकले आफूसँग २२ सांसद् भएको दाबी गरे पनि संसद् सचिवालयमा १९ जनाको मात्र सनाखत छ। ३७ मध्ये अन्य सांसद् राप्रपासँग छन्। तर, संशोधनमा पक्ष वा विपक्ष भन्ने स्पस्ट छैन।
सत्तारुढ दलसँग राप्रपा बाहेक ३५८ सांसद् छन्। जसमा दुईको मताधिकार छैन। सभामुख र सद्भावनाका सञ्जय साहको मताधिकार छैन।