सप्तरी : भीषण वर्षासँगै आएको बाढीले तराईका ३० जिल्ला प्रभावित हुँदा १ सय ३५ जनाको मृत्यु भइसकेको छ। बाढीका कारण ३० जना घाइते र ४० जना बेपत्ता भएको तथ्याङ्क गृह मन्त्रालयले सार्वजानिक गरेको छ।
कस्तो छ बाढी पीडित गाउँको अवस्था?
बाढी पीडित क्षेत्र सप्तरी जिल्लामा जनधनको क्षति उस्तै छ। सप्तरीका केही गाउँमा बाढीपछिको अवस्था, राहत तथा सरकारी टोलीको सहयोग कस्तो छ त? वर्षेनी डुबान पर्दा पनि समस्या किन दीर्घकालीन रुपमा समाधान हुन सकेन?
कुशाहा गाउँ
कोइलाडी गाउँपालिका वडा नम्बर ५ कुशाहा गाउँको अवस्था बेहाल छ। पूरै गाउँ डुबानमा परेका कारण मानिसहरु सडकमा पाल टाँगेर बसेका छन्। घरका लत्ता कपडा र अन्नमात्र होइन उनीहरुले पालेका गाईभैँसीसमेत बगाएको स्थानीय राजु मण्डलले बताए।शनिवारदेखि राहतको पर्खाइमा बसेका कुशाहाबासीले १ प्याकेट चाउचाउ र मुरी (भुजा) मात्र पाएको बताए। पिउन योग्य पानी नपाएर उनीहरु फोहोर पानी पिउन बाध्य छन्। त्यसैका कारण केही जेष्ठ नागरिक र बालबालिकालाई झाडापखाला र ज्वरो समेत आएको मण्डलले जानकारी दिए।
‘४ दिनदेखि गाँउ डुबानमा थियो। हामी सबै रोडमा आएर बसेका थियौँ। घरमा भएका सामानहरु निकाल्न सक्ने अवस्था थिएन। सरकारी टोली आएर घरमा बचेका सामानहरु निकालिदिन्छन् भन्ने आशामा ३ दिनसम्म बस्यौं। तर, सरकारी टोली आएन,’ मण्डलले सुनाए, ‘हाम्रो आशा निराशामा परिणत भयो। सरकारको आशा गर्दा तीन दिनसम्म बिचल्लीमा पर्यौं ।’
मण्डलका अनुसार त्यसपछि उनीहरुले चन्दा संकलन गर्न थाले।
चन्दाबाट ३५ हजार पैसा जम्मा भयो। ३५ हजारमा डुंगा किनेर घरमा बचेको सामान सडकतिर ओसारे। जेष्ठ नागरिक तथा बालबालिकालाई सुरक्षित ठाउँमा ल्याए। उनीहरुले यतिधेरै काम गरिसक्दा पनि सरकारको उपस्थिति शून्य थियो।
त्यसैले अहिलेसम्म पनि राहतकै पर्खाइमा रहेको उनीहरु बताउँछन्। रित्तो घर हेर्दै बिलौना पोख्दै उनीहरुको दिनचर्या बितिरहेको छ।
मण्डल भन्छन्, ‘मौली नदी, जिताहा र सप्तकोसी नदीले यत्रो क्षति गराएको हो। सप्तकोसीको बाँध खोलेको भए हाम्रो यहाँ यत्रो क्षति नै हुँदैन थियो। अब त घरका अन्न पनि बगायो। धानखेत बगरमा परिणत भयो। हामी के खाने?’
मण्डलका अनुसार त्यस क्षेत्रका नेता गजेन्द्र नारायण सिंह सिंचाइमन्त्री हुँदा गाउँमा पुल उद्घाटन गरेका थिए। तर, १५ वर्ष बित्दा पनि पुल बनेन। पुल बनेको भए अहिले यति धेरै क्षति हुँदैन थियो।
‘किनकि, बाढी आएको बेला गाउँलेहरुले घरमा भएको अन्नपात पुल तरेर जोगाउन सक्थे। कोसीको बाँध खोल्देको भए यति धेरै पानी यता आउँदैन थियो। नदी नियन्त्रणका लागि सरकारले पठाएको रकम नेताहरुले भ्रष्टाचार नगरेको भए हाम्रो यो गति हुँदैन थियो,’ मण्डलले दुखेसो पोखे, ‘हामी त जहिल्यै डुबेको डुब्यै छौं। वर्षौसम्म यो समस्या समाधान नहुँदा बहुत दु:ख लाग्छ।’
टिकुली गाउँ
सप्तरीको टिकुली गाउँ पनि यतिबेला शोकमा डुबेको छ। बाढीले विस्थापित भएपछि उनीहरु खुल्ला आकासमुनि बस्न बाध्य छन्। ४ दिनदेखि राम्रोसँग खाना पाएका छैनन्। एकपटक सरकारी टोलीबाट चाउचाउ र मुरी पाए पनि अन्य राहत नपाएको टिकुलीबासीको गुनासो छ।उनीहरु राहत तथा पुनर्स्थापनाको पर्खाइमा छन्। भन्छन्, ‘हामी सरकारकै कारणले डुबानमा परेका हौं। कोसीको ढोका खोलेको भए हाम्रो यहाँ धेरै क्षति हुँदैन थियो। कोसीको पानी बग्न नपाउँदा हाम्रो गाउँतिर आयो र हामी डुबानमा पर्योब। फाडु नदीको पानी भन्दा यहाँ कोसीको पानीले क्षति गर्योउ।’
सखुवा गाँउ
सप्तरीकै सखुवा गाउँका स्थानीयका अनुसार यो गाउँ पनि कोसीको पानी फर्किएर डुबानमा परेको हो। फाडु नदी र कोसीको पानी गाँउ छिरेपछि उठिबास लागेको उनीहरु बताउँछन्। राहतको पर्खाइमा बसेका उनीहरु आफ्नो सर्वस्व बगाएको पीडा सुनाउन सरकार कुरिरहेका छन्। कोही नयाँ मान्छे देखिनेबित्तिकै सरकारी टोली सम्झेर उनीहरु आफ्नो घर देखाउँदै वेदनाका कथा हाल्न थाल्छन्।उनीहरुलाई खाना, पानी र बासको समस्या छ। खुल्ला आकासमुनि झोक्राएर बसिरहेका छन् सबैजसो। सखुवा गाउँका राम यादव भन्छन्, ‘बाढीले सबै बगाएपछि अहिले हामी घर हेर्न गएका छैनौं। के छ र हेर्न जानु? भएभरको सबै बगाएको छ। घरको र खेतको अन्नबाली लत्ताकपडा सबै बगायो। अब के खाएर खाएर बाँच्नु?’
जोगनिया गाउँ
अधिकांश मुसहर बस्तीले भरिएको जोगनिया गाउँ सुनसान छ। बाढीले डुबानमा परेपछि उनीहरु खानाको लागि कोसीको किनारमा माछा मार्न गएका छन्। सरकारबाट केही राहत नपाएपछि माछा मारेर बच्चाहरुको भोक शान्त पार्नुपरेको लक्ष्मी सदा बताउँछिन्।जोगनीया गाउँका बच्चाहरु अहिले बिरामी पर्न थालेका छन्। जोगनिया गाउँको अवस्था अन्य गाउँभन्दा फरक छैन्।
कुलाडी गाउँ
जलाउने र गाड्ने ठाँउ नपाएर बालक कमलु सदालाई उनको काका देव कुमार सदाले कोसीमा बगाएपछि कुलाडी गाउँ सञ्चार माध्यमहरुमा छाएको छ। तर, सरकारी टोलीबाट भने उनीहरुले चाउचाउ, मुरी र केही त्रिपाल बाहेक केही पाउन सकेका छैनन्।बाढीले विस्थापित भएको गाँउ भोक, प्यास र शोकले आक्रान्त छ।
कोसीमा बगाएका मृत बालक कमलुको गाउँ हो, कुलाडी। कमलु मर्दा कमलुको बुवा गाउँमा नभएकाले कमलुलाई के गर्ने भन्नेमा गाउँमा चर्को विवाद परेको जनक सदा बताउँछन्।
कुलाडी गाउँमा महामारी फैलिन सुरु भइसकेको छ। धेरै बच्चा र जेष्ठ नागरिकहरु बिरामी पर्न थालेका छन्। सरकारी टोली आएर तथ्याङ्क संकलन गरे पनि राहत बाड्ने काम भने सुरु गरेको छैन।
लौनिया
शनिवार गाउँ नै बाढीले बगाएपछि सप्तरी कोइलाडी गाउँपालिका लौनियाका शिक्षक अमरनाथ गाउँलेहरुलाई सान्तवना दिँदै गर्दा भेटिए। पढेलेखेका भएकाले गाउँलेहरु उनको शरणमा आएका छन्। बाढीले बित्यास पारेको यतिका दिनसम्म पनि सरकारी उद्धार टोली नपुग्दा उनीहरु अत्तालिरहेका देखिन्थे।शिक्षक झाका अनुसार सप्तरीको अधिकांश स्थानमा वर्षेनी डुबानमा पर्ने गर्छ। यस पटक धेरै नै क्षति भएकाले सबैको ध्यान केन्द्रित भएको हो। यसपटक घरमा भण्डारण गरेको अन्नबाली मात्र हैन खेतको धान समेत नष्ट भएको छ। अबका केही वर्ष उनीहरुलाई खान लगाउन कष्ट पर्नेछ।
लौनिया गाउँलाई फाडु खोलाले डुबानमा पारेको हो। शिक्षक झाका अनुसार फाडु खोला नियन्त्रणका लागि सरकारले वर्षेनी लाखौ बजेट छुट्याउँछ। तर, त्यहीँका केही बाठाटाठा मिलेर बजेटमा मनपरी गर्ने झाको आरोप छ।
शिक्षक झा भन्छन्, ‘नदी नियन्त्रणका नाममा आएको बजेट पार्टी कार्यकताले खाएका छन्। विकासको नाममा झारो टार्ने काम गरेका छन्।’
वनरधुलियक गाउँ, मलनियाँ गाउँ
सप्तरीका अन्य गाउँको पनि अवस्था उस्तै छ। राहतको पर्खाइमा गाउँलेहरु बसिरहेका छन्। प्रदुषित पानीका कारण महामारी फैलने अवस्था छ भने अन्न छैन। त्यहाँ तत्काल औषधि, खानेपानी र खाद्यान्य सामाग्री नपुर्या उने हो भने अर्को महामारी फैलिने देखिन्छ।सबै गाउँलेहरुको एउटै आवाज छ, ‘वर्षेनी बाढी भोग्दै आउनुको कारण कोसी बाँध प्रमुख हो।'