
धनगढी : फोटोसहितको मतदाता नामावली संकलनका क्रममा कैलालीमा ६० हजार १२ जना नयाँ मतदाता थपिएका छन्।
थपिएका मतदातामा ३३ हजार १८० महिला र २६ हजार ८३२ पुरुष रहेको धनगढीस्थित क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिए। यी मतदातामध्ये क्षेत्रीय निर्वाचन कार्यालयमार्फत सबैभन्दा बढी मतदाताको नाम संकलन भएको छ।
साउन १ गतेदेखि सुरु भएको मतदाता नामावली संकलन कार्य भदौ ३ गतेसम्म जारी रहेको थियो। कैलाली जिल्लाको एक उपमहानगरपालिका (धनगढी), छ वटा नगरपालिका र छ वटा गाउँपालिकासमेत १३ स्थानीय तहका कार्यालयमार्फतसमेत फोटोसहितको मतदाता नामावली संकलन गरिएको थियो।
यसबाहेक क्षेत्रीय निर्वाचन कार्यालयले पनि मतदाता नामावली संकलन गर्दै आएको थियो। कैलाली जिल्लामा बसाइँ सराइ गरेर आउनेहरुको चाप बढी भएकाले मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको संख्या पनि बढेको कार्यालयले जनाएको छ।
स्थानीय तहका कार्यालयका साथै निर्वाचन कार्यालयमा नामावली संकलन, अध्यावधिक गर्ने, त्रुटि सच्याउने, नामावली सार्नेलगायतका काम गरिएको थियो।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीमा चार लाख तीन हजार २८० मतदाता थिए। नयाँ थपिएका मतदातासमेत जिल्लाको कूल मतदाता संख्या चार लाख ६३ हजार २९२ पुगेको छ। रासस