
दक्षिण अफ्रिका : दक्षिण अफ्रिकामा एक महिलालाई कुटपिट गरेको आरोप लागेपछि एक मन्त्रीले राजिनामा दिएका छन्।
गत सप्ताहान्तमा राजधानी जोहान्सबर्गस्थित एक रात्रिक्लबमा पुगेका उच्च शिक्षा तथा तालिम उपमन्त्री मदुदुजि मनाना र एकजना महिलाबीच भनाभन भएको थियो।
उपमन्त्री मनानाले आक्रोशमा आएर आफ्नो मर्यादा विपरित महिलालाई जथाभावी कुटपिट गरेपछि ठूलो होहल्ला मच्चिएको थियो। घटना पश्चात् उपमन्त्री मनानाले पदबाट राजिनामा दिएका हुन्।
उपमन्त्री मनाना सत्तारुढ दल अफ्रिकन नेशनल कांग्रेसका सदस्य हुन्। राजिनामा पत्रमा उनले आफ्नो गैरजिम्मेवार क्रियाकलापप्रति पश्चातापसहित राष्ट्रका नाममा क्षमायाचना गरेका छन्।
आफ्नो हीनतापूर्ण कार्यबाट सत्तारुढ दल अफ्रिकन नेशनल कांग्रेस र देशको मन्त्रीमण्डल समेतले लज्जाबोध गर्नु परेका कारण राजिनामा दिएको उनले स्विकार गरेका छन्। मन्त्रीपदबाट राजिनामा दिए पनि उनले संसद् सदस्यता भने त्याग गर्ने छैनन्।
उपमन्त्री मनानाको राजिनामा तत्कालै स्वीकृत गर्दै दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले हालसम्म आफ्नो कर्तव्य निर्बाह गरी सरकारलाई सहयोग गरेकोमा मनानालाई धन्यबाद दिएको विज्ञप्तिमा जनाइएको छ।
साथै, सत्तारुढ पार्टी अफ्रिकन नेशनल कांग्रेसले पनि उपमन्त्रीको राजिनामालाई ‘ठीक कार्य गरेको’ठहर गर्दै पार्टी प्रवक्ता जिजि कोद्वाले मनानालाई धन्यवाद दिएका छन्।
महिलाको अपमान र कुटपिटको घटनापछि उपमन्त्री मनानालाई प्रहरीले नियन्त्रणमा लिई स्थानीय अदालतमा तुरुन्तै मुद्दा चलाएको थियो।
अदालतमा पाँचहजार दक्षिण अफ्रिकी र्यान्ड (तीनसय असी अमेरिकी डलर) धरौटी राखेपछि मात्र उपमन्त्री मनाना हिरासत मुक्त भएका थिए। रासस /सिन्ह्वा