वीरगञ्जः प्रहरीले वीरगञ्जबाट एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। हेल्थ असिष्टेन्ट(एचए) प्रथम वर्षको परीक्षा दिइरहेका बेला सर्लाहीको मलगंवा नगरपालिका वडा नम्बर चार घर भई वीरगञ्ज विर्ता बस्ने अर्जुन यादवलाई प्रहरीले पक्राउ गरेको हो।
वीरगञ्जको इन्ष्टिच्यूट अफ टेकनोलोजी कलेजबाट अर्काको नाममा परीक्षा दिइरहेका बेला उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। यादवलाई रौतहटका नविनप्रसाद पटेलको नाममा परीक्षा दिइरहेका बेला पक्राउ गरिएको प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए।
यसैबीच, प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वाको एक पोखरीबाट १६ इन्चको नलकटुवा पेस्तोल बरामद गरेको छ।
स्थानीय इन्साफ आलमले पोखरीमा माछा मार्ने क्रममा जालमा फसेर बन्दुक आएपछि प्रहरीलाई खबर गरेका थिए।