
काठमाडौंः थप आठ जना राज्यमन्त्रीहरुलाई मन्त्रिपरिषद्मा सामेल गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।
सत्तारुढ दल कांंग्रेस-माओवादीले मन्त्रीहरु छनौट गर्न बनाएको कार्यदलका सदस्य एवं कांग्रेस नेता विमलेन्द्र निधिले माओवादी केन्द्रका तर्फबाट उसले पाएका ८ मन्त्रालय अनुसार एक-एक राज्यमन्त्री नियुक्त हुन लागेका जानकारी दिए।
माओवादी केन्द्रबाट थपिन लागेका ८ राज्यमन्त्रीहरुमा श्यामकुमार श्रेष्ठ गृह, रामसिंह यादव परराष्ट्र, शम्भुलाल श्रेष्ठ स्वास्थ्य र कर्ण बहादुर बिक आपूर्ति छन्।
यस्तै छमबहादुर गुरुङ सहरी विकास, जाकिर हुसेन ऊर्जा, गोमा कुँवर पशुपन्छी विकास र वाङ्दी शेर्पा सामान्य प्रशासन राज्यमन्त्री हुन लागेका छन्।
मुख्य सत्ताघटक नेपाली कांग्रेसबाट १० जना र लोकतान्त्रिक फोरमबाट ३ जना राज्यमन्त्री केही दिन भित्रै थप गर्ने तयारी भैरहेको पनि नेता निधिले बताएका छन्।
माओवादी केन्द्रका आठ राजयमन्त्रीहरुको आजै साँझ शपथ ग्रहण कार्यक्रम रहेको पनि निधिले जानकारी दिए।
हाल २७ सदस्यीय रहेको मन्त्रिमण्डलमा माओवादीका आठ राज्यमत्री थपिदा मन्त्रिमण्डलको संख्या ३५ पुगेको छ । कांग्रेसका दश र फोरम लोकतान्त्रिकका तीन राज्यमन्त्री थपिंदा मन्त्रिमण्डलको संख्या ४८ सदस्यीय हुनेछ ।