PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

माथिल्लो तामाकोशी निर्माणमा ढिलाइ किन ?



रासस

माथिल्लो तामाकोशी निर्माणमा ढिलाइ किन ?

चरिकोट :  दोलखाको लामाबगरमा निर्माण भइरहेको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य वर्षाका कारण ढिलाइ हुने भएको छ। 

डलरको भाउमा आएको उत्तारचढाव, वर्षा र लामोसाँघु जिरी सडकको स्तरोन्नतिका कारण भएको ढिलाइले आयोजनाको लागत झण्डै सात अर्ब बढ्ने अनुमान गरिएको छ। 

गत आर्थिक वर्ष०७३/७४को असार मसान्तसम्ममा आयोजनाले ९४ प्रतिशत काम सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखेपनि साउन मसान्तसम्म आइपुग्दा ९१ प्रतिशत पनि काम सम्पन्न गर्न सकेको छैन।

डलरको मूल्यमा उतारचढाव आउनु लक्ष्यअनुसार निर्माण कार्य अगाडि नबढ्नु र भूकम्पका कारण आयोजनाको समयसीमा लम्बिदै जानुका कारण ३५ अर्ब २९ करोडमा सम्पन्न गर्ने अनुमान गरिएको आयोजनाको लागत बढेर ४१ अर्ब ७२ करोड पुग्ने अनुमान गरिएको प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए। 

विदेशी विनिमय दरमा भएको वृद्धि, बजार मूल्य, भूकम्पले क्षति पुर्याउँदाको दुई वर्ष ढिलाइलगायतका कारण आयोजनाको लागत करिब सात अर्ब ४३ करोड बढ्ने अनुमान गरिएको छ।

३५ अर्ब २९ करोड लागत अनुमान हुँदा डलरको भाउ करिब ८० रुपैयाँको प्रक्षेपण गरिएको थियो तर अहिले डलरको भाउ ११० रुपैयाँ पुगेको छ। आयोजनामा अहिलेसम्म ३४ अर्ब ६४ करोड खर्च भइसकेको छ। 

आयोजनाले हालसम्म ९०।५ प्रतिशतमात्र निर्माण कार्य गरेको छ। वर्षा र सडक मर्मतले सामग्री ढुवानीले काममा सुस्तता आएको प्रवक्ता न्यौपानेले बताए। 

निर्माणाधीन लामोसाँघु जिरी सडकखण्डअन्तर्गतको खाडीचौर चरिकोट खण्डमा सडक चौँडासहित स्तरोन्नतीको काम भइरहेकाले सामग्री ढुवानीमा समस्या भएको हो। प्रवक्ता न्यौपानेले सडकको विकल्पमा खुर्कोट र खिम्ती हुँदै आयोजनास्थलसम्म ढुवानीको व्यवस्था मिलाइएको बताए। 

न्यौपानेका अनुसार आयोजनाका लागि आवश्यकपर्ने ठूला उपकरण र पेनस्टक पाइप सिन्धुपाल्चोकको सुनकोशी जलविद्युत् आयोजनामा भण्डारण गरिएको छ। 

आयोजनाले मुख्य संरचनाअन्तर्गत टेलरेस सुरुङ खन्ने कार्य, विद्युत गृह र ट्रान्सफर्मर क्याभर्न खन्ने कार्य भने गरिसकेको छ। आयोजनाको मुख्य सुरुङ खन्ने काम ९३ प्रतिशत, हेडवक्स कंक्रिट कार्य ८९.५ प्रतिशत सम्पन्न भएको जनाएको छ। 

यस्तै, अडिटलगायत अन्य सुरुङ खन्ने कार्य ८५.३ प्रतिशत, विद्युत गृह र ट्रान्सफर्मर र कंक्रिटको काम ८४ प्रतिशत सम्पन्न गरिसकेको छ। 

आयोजनाले २०७५ असार मसान्तभित्र विद्युत् उत्पादन गरिसक्ने लक्ष्य लिएपनि उक्त समयभित्र निर्माणकार्य सम्पन्न हुननसक्ने जनाएको छ।

गृहमन्त्री जर्नादन शर्माले आयोजनास्थलमा पटक/पटक पुगेर सरकारले गर्ने सहयोगमा कुनै कन्जुस्याई नगर्ने तर आयोजनाको काम दु्रत गतिमा सम्पन्न गर्न निर्देशन दिएपनि प्राकृतिक विपत्तिका कारणले पनि ढिलाइ भएको आयोजनाका कर्मचारीले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell