PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

चन्द्रनहर सिँचाइ आयोजनामा करिब दुई अर्बको क्षति



रासस

सप्तरी :  हालै आएको मुसलधारे वर्षाका कारण सप्तरी जिल्लामा आएको भिषण बाढी र पहिरोले पुरानो चन्द्रनहर सिँचाइ आयोजनालगायतका वितरण प्रणालीमा एक अर्ब ८८ करोड रुपैयाँ बरावरको क्षति भएको छ। 

खाँडोलगायत घोरदह, मुतनी, कजरा, कटनिया धार, पाँची, कसहा, जुरी, खैरी, खडक, कटहा, बिहुल नदीहमा आएको बाढीले पम्प नहर प्रणाली, चन्द्रनहर प्रणाली, वितरण नहर प्रणालीमा क्षति भएको कोशी पम्पु, चन्द्रनहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयले जनाएको छ। 

कार्यालयका प्रमुख प्रसुन मिश्राकाअनुसार पम्प नहर प्रणलीमा एक अर्ब ७० करोड, चन्द्रनहर प्रणलीमा १५ करोड तथा वितरण नहर प्रणलीमा तीन करोड मूल्य बराबरको क्षति भएको छ। 

कार्यालयका अनुसार पम्प नहर प्रणाली राजविराजको मलेठ चौकमा पम्प नहरको दायाँ बैंक काटान गरी खाँडो नदीलाई नहर बनाइएकाले खाँडोको ७५ प्रतिशत बहावले पम्प हाउस (बी)लाई अर्कोतिर लगरेर क्षति पुर्याएको थियो। 

साथै पम्प हाउस (बी)को भित्र पानी पसेर भौतिक पूर्वाधार भत्काउँदा बाढीबाट पम्प हाउस(बी)मा रहेका पाइनलबोड, मोटर, टान्फर्मर, फिल्टरेसन पलान्टमासमेत क्षति पुर्याएको बताइएको छ। 

खाँडो नदी बाढीले पम्प नहरको विभिन्न ठाउँमा सर्भिस रोड, र राइट बैंक तोडफोड गरेकाले नहर सञ्चालन नहुने स्थितिमा पुगेको प्रमुख मिश्राले बताए। 

त्यस्तै चन्द्र नहर सिँचाइ प्रणालीमा अमहा, पौडा, सुन्दरी, महुली, गंगाजली नदीको बाढीले विभिन्न ठाउँमा सर्भिस रोड, राइट बैँक भत्काएको छ। 

साथै मोहुली नदीको बाढीले जिल्लाको बुधेवा बाँधसमेत क्षतिग्रस्त बनाएको छ भने वितरण नहर प्रणालीमा जीता खोलाले करिब ३१ शाखा नहरलाई तोडफोड गरेको र खाँडो नदीको तीन सय मिटरसम्म लेपट बैंक भत्काएकोले शाखा नहरमा नहर सञ्चालन नहुने स्थितिमा पुगेको कार्यालयले जनाएको छ। 

कार्यालय प्रमुख मिश्राकाअनुसार बाढीबाट क्षतिग्रस्त चन्द्रनहरलगायत अन्य पूर्वाधारको मर्मत र निर्माणको सम्बन्धमा सिँचाइ मन्त्रालय र सिँचाइ विभागमा लिखित जानकारीसमेत गराइएको बताए। 

सप्तरीमा सिँचाइको लागि अत्यन्त महत्वपूर्ण रहेको आयोजनाको लागि छिटो बजेट आएमा तुरुन्त कार्य सुरु गरिने उनले बताए। 
चन्द्रनहरलगायत अन्य प्रणलीको क्षतिको अवस्थाबारे सिँचाइ मन्त्रालय र विभागका उच्चस्तरी टोलीद्वारा स्थालगत निरीक्षणसमेत भएको बताइएको छ। 

यसैबीच, खाँडो नदी नियन्त्रण बाँध आयोजनाले खाँडो नदीमा निर्माण गरेको बाँध भत्किदा तीन करोड बराबरको क्षति भएको जनाएको छ। कार्यालय प्रमुख मोहम्द सिद्धिकीकाअनुसार खाँडो बाँधको तीन किलोमिटर पूर्णरुपमा कटान भएको र तीन सय मिटर बाँधमासमेत क्षति पुगेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell