PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

यस्तो आउँदैछ मनमोहन अस्पताल मिर्गौला काण्डको प्रतिवेदन: पीडित रिमाल भन्छन्,'यो सहरले मलाई जोगी बनायो'



सागर बुढाथोकी

यस्तो आउँदैछ मनमोहन अस्पताल मिर्गौला काण्डको प्रतिवेदन: पीडित रिमाल भन्छन्,'यो सहरले मलाई जोगी बनायो'

काठमाडौँ: मनमोहन अस्पतालमा पत्थरीको अपरेशनको क्रममा मिर्गौला निकालिएका शिव रिमाल अहिले न्यायको पर्खाइमा छन्। अस्पतालले मिर्गौला निकालेपछिको उनको २ महिना काठमाडौँको सडकमा भौतारिँदै बितेको छ। उनकै शब्दमा अहिले उनी 'घरको न घाटको भएका छन्।'

'न ढुक्कसँग घर जान पाएको छु। न काठमाडौँमा बसेर केही उपलब्धि भएको छ।' रिमाल भन्छन् 'उपचार गराउन आएको मलाई यो सहरले जोगी बनायो। सबै सपना चकनाचुर भयो।'

मनमोहन अस्पताल प्रशासनसँग भएको रिमालको मिर्गौला  विवाद मिडिया हुदैँ संसदमा समेत पुगेको थियो। स्वास्थ्य मन्त्रालयले छानविन समित गठन गरेपछि उनी न्यायको पर्खाइमा बसेका थिए।

छानविन समितिले गठन भएको एक महिना बितिसक्दा पनि केही निष्कर्ष निकालेको छैन्। स्वास्थ्य मन्त्रालय पटक-पटक धाइरहे पनि मन्त्रालयले सकरात्मक जवाफ नदिएको रिमाल बताउँछन्।

'मन्त्रालयबाट हुँदैछ भन्ने मात्र जवाफ आउँछ। कहिले हुन्छ। के कसरी हुन्छ केही जानकारी छैन्। फेरि फलोअप र चेकअपको लागि अस्पताल जानु पर्ने बेला भयो जान पाएको छैन्' निराश हुँदै उनले सुनाए, 'छानविन समितिले केही गर्दैन जस्तो छ। जिल्ला प्रशासनमा हालेको उजुरी पनि के भयो थाहा छैन्।'

रिमाल अहिले काठमाडौँमा बसिरहेका छन्। मिर्गौला निकालिएकाले काम गर्न सक्दैनन्। काठमाडौंमा हिँड्दा-हिँड्दै सबै खर्च सकिएको उनको गुनासो छ। छानविन समितिले ढिलाई गरेकै कारण उनको नियमित चेकजाँच अगाडि बढ्न सकेको छैन्।

'के गर्ने कसो गर्ने? केही सोच्न सकेको छैन्। न्यायको लागि जाने कहाँ? जता गए पनि आश्वासन मात्रै दिन्छन्' उनी भावुक हुँदै भन्छन् 'अब हामी गरिब यसरी नै मरिरहनुपर्ने हो भने मेरो भन्नु केही छैन्। मेरो भन्नु यत्ति हो, म जस्ता अरु गरिबहरुको मिर्गौला ननिकालियोस्। परिवारको मुख्य मान्छेको जीवन बर्बाद गरेर पूरा परिवार तहसनहस नपारियोस्।'

 

के थियो घटना

रिमाल जेठ १२ गते पेट दुखेर मनमोहन अस्पताल गएका थिए। स्वास्थ्य परीक्षणपछि २५ गते पत्थरीको अपरेशन भयो। पत्थरीको अपरेशन गर्दा मिर्गौला निकालियो। रिमालकी श्रीमती रन्जुसँग अस्पताल प्रशासनले ६ बुँदे सहमति गर्‍यो। अस्पतालसँग गरेको ६ बुँदे सहमति उनलाई मान्य भएन्। उनले अस्पतालसँग २ वटा नयाँ माग थपे।

पहिलो -मिर्गौला किन निकालियो उपयुक्त कारण प्रस्तुत गर्नुपर्छ।

दोस्रो -५० लाखको जीवन बिमा गरिदिनुपर्छ।

अस्पतालले नयाँ माग पूरा गर्न नसक्ने जानकारी दियो। त्यसपछि अस्पतालसँग उनको विवाद सुरु भयो। विवाद मिडिया हुँदै सामाजिक सञ्जालभरि फैलियो। रिमालले कानुनी उपचारको बाटो रोजे।

उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिए। मनमोहन अस्पतालले सामान्य घटनालाई राजनीतिक रंग दिएको भन्दै प्रेस विज्ञप्ति निकाल्यो। अस्पतालले आफूले गल्ती नगरेको भन्दै कानुनी लडाई लड्न तयार रहेको अभिव्यक्ति दियो।

त्यसपछि स्वास्थ्य मन्त्रालयले छानविन समिति गठन गर्‍यो। छानविन समिति गठन भएको एक महिना बितिसकेको छ। समितिले अहिलेसम्म केही निष्कर्ष निकालेको छैन्। जसको कारण रिमाल मारमा छन्।

 

संयोजक भन्छिन्, 'गल्ती दुबै पक्षको छ'

छानविन समिति संयोजक स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ पुष्पा चौधरीका अनुसार प्रतिवेदन अन्तिम चरणमा छ। प्रतिवेदन स्वास्थ्य सचिव डाक्टर किरण रेग्मीले हेरिरहेकी छिन्।

प्रतिवेदनले मनमोहन अस्पताल र विरामी दुबै पक्षको कमजोरी देखिएको निष्कर्ष निकालेको चौधरी बताउँछिन्।

'अस्पतालको नियत मिर्गौला तस्करी गर्नु हैन्। विरामीसँग मिर्गौला झिक्नुअघि कागजी सम्झौता नगर्नु, विरामी डिस्चार्ज हुदाँसम्म मिर्गौला झिकिएको नबताउनु र विरामीलाई नबताइ श्रीमतीसँग सम्झौता गरेर घटना लुकाउन खोज्नु अस्पतालको गल्ती हो।' चौधरीले भनिन्,  'विरामीलाई उसको परिवारले मिर्गौला झिकेको नबताउनु, सम्झौतापछि अस्पतालमा विभिन्न मानिसहरु ल्याई विवाद गर्नु र अस्पतालसम्म राम्रो भएको सम्वन्ध घर गएपछि विग्रनु विरामीको कमजोरी हो।'

यी बाहेक अन्य निष्कर्षहरु प्रतिवेदनमा अटाएको चौँधरी बताउँछिन्।

यो पनि पढ्नुस्

मनमोहन अस्पताल काण्ड : पत्थरी निकाल्ने नाममा कसरी झिकियो किड्नी? अस्पताल भन्छ : राजनीति भयो

 

मनमोहन अस्पताल काण्ड : के मृगौला तस्करी सम्भव छ ?

 

जीवन भनूँ त घात छ, मृत्यु भनूँ त सास छ : साउदी जाँदा ऋण थपियो, नेपाल फर्कँदा किड्नी गुम्यो


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell