
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले सोमबार भ्रमण कार्यतालिका सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार यही बुधबारदेखि प्रधानमन्त्रीको औपचारिक भ्रमण सुरु हुनेछ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा ५ दिनका लागि भारत भ्रमणमा जान लागेका हुन्। भ्रमणका एजेण्डाबारे प्रधानमन्त्री देउवाले यसअघि पूर्वप्रधानमन्त्रीसँग पनि परामर्श गरेका थिए।
भ्रमणका दौरान प्रधानमन्त्री देउवा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा बस्नेछन्।
प्रधानमन्त्रीको भ्रमण टोलीमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, सरकारका अन्य मन्त्रीहरु, सांसद्हरु, सरकारका सचिव र अन्य उच्च पदस्थ सरकारी अधिकारी रहनेछन्।
भ्रमणका दौरान बिहीबार राष्ट्रपति भवनमा उनको सम्मानमा आयोजित कार्यक्रममा सामेल हुनेछन्। सोही दिन राजघाटमा रहेको माहत्मा गान्धीको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ। बिहीबार नै प्रधानमन्त्री देउवाले भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग भेटघाट गर्नेछन्।
भ्रमण अवधिमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी र मन्त्रिपरिषदका अन्य सदस्य र राजनीतिक व्यक्तित्वसँग भेटघाट गर्नेछन्। प्रधानमन्त्री देउवा नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन्। भ्रमणका क्रममा उनले व्यवसायिक र बौद्धिक व्यक्तित्वसँग पनि छलफल गर्नेछन्।
भ्रमणका अवसरमा प्रधानमन्त्री देउवा तेलङ्गना, आन्ध्र प्रदेश र बिहार राज्यमा पुग्नेछन्। प्रधानमन्त्री देउवा आउँदो आइतबार स्वदेश फर्कनेछन्।