
राजविराज : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले बाढी पहिरोका कारण प्रदेश नं २ मा असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा चुनौती थपिएको बताएका छन्।
सप्तरीको राजविराजस्थित जिल्ला निर्वाचन कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले बाढी पहिरोका कारण देशमा व्यापक धनजनको क्षति भएको र बाढीपीडितको अवस्था अत्यन्त गम्भीर भएकाले सरकार र स्थानीय प्रशासनले छिटो समस्याको समाधान गरी निर्वाचनको वातावरण बनाउनुपर्ने बताए।
निर्वाचनमा राष्ट्रिय जनता पार्टी सहभागी हुनुका साथै निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुने यादवको भनाइ थियो।
उनले निर्वाचन अचारसंहिताको पालना सरकार र राजनीतिक दलबाट भए÷नभएको सम्बन्धमा पत्रकारलाई निगरानी गर्न आग्रह गरे।
यसअघि प्रमुख आयुक्त यादवले सप्तरीको राजनीतिक परिस्थिति एवं निर्वाचनको अवस्था र निर्वाचन सुरक्षाबारे स्थानीय प्रशासनसँग जानकारी लिएका थिए। रासस