PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

यस्तो छ पोखरा लेखनाथ महानगरपालिकाको राजश्व संकलन योजना 



नरहरि पौड्याल

यस्तो छ पोखरा लेखनाथ महानगरपालिकाको राजश्व संकलन योजना 

पोखराः पोखरा लेखनाथ महानगरपालिकाले दिगो राजश्व संकलनको योजना अगाडि बढाएको छ। स्थानीय तह निर्वाचनमा पोखरालाई स्मार्टसीटी र छिमेकी नगर तथा गाउँपालिकालाई स्याटलाईट सीटीकारुपमा विकास गर्ने भनी व्यक्त गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्न आवश्यक पर्ने ठूलो रकमको व्यवस्थापन गर्न महानगरपालिकाले राजश्व संकलनको महत्वकांक्षी लक्ष्यसहितको योजना अगाडि सारेको हो। 

महानगरले राजश्व र करबाट २ अर्ब २१ करोड ८२ लाख ५३ हजार ८ सय रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ। जुन सिंगो बजेटकै ५४.९ प्रतिशत हो। बाँकी आय केन्द्रबाट सशर्त र निशर्त अनुदान १ अर्ब ८२ करोड रुपैयाँ छ। 

महानगरपालिकाको राजश्व, कर र अनुदानगरी कुल ४ अर्ब ३ करोड ८५ लाख रुपैयाँ छुट्याइएको हो। करका सम्भावित नयाँ क्षेत्रहरुको खोजी तथा कार्यान्वयनमा नआएका क्षेत्रलाई कडाईका साथ कार्यन्वयन गरी ठूलो मात्रमा कर असुली गर्ने योजना महानगरको छ। 

महानगरपालिकाले आगामी आर्थिक वर्षमा २५ हजार जग्गाधनी करदाता थप गर्ने लक्ष्य लिएको छ। अहिले पोखरामा ४० हजार जग्गाधनी करदाताबाट ७ करोड ७९ राख ७४ हजार रुपैयाँ उठ्ने गरेकोमा २५ हजार करदाता थप्ने र १३ करोड सम्पत्ति कर उठाउने योजना महानगरको छ।

महानगरपालिकाले बहालकर, घरजग्गा रजिष्ट्रेसन कर, सवारी साधन कर, सेवा शुल्क, दस्तुर, पर्यटन, विज्ञापन कर, व्यवसाय कर, मालपोत तथा भूमिकर, दण्डजरीवाना, मनोरञ्जन कर, बहाल बिरौटी घर जग्गा कर, हाडसिङ छाला र कवाडी कर, प्राकृतिक स्रोत साधन व्यावसायिक कर र विविध गरी लक्ष्य पूरा गर्ने योजना सार्वजनिक गरेको हो।

सबैभन्दा बढी ६५ करोड रुपैयाँ रजिष्ट्रेसन दस्तुरमार्फत प्राप्त हुने महानगरको अनुमान छ। अहिले जम्मा २ सय ४४ जनाले मात्र बहाल कर तिर्ने गरेकोमा करदाताको संख्या बढाएर १२ हजार ५ सय पुर्याउने महानगरको लक्ष्य छ। 

बहाल कर वापत हाल महानगरपालिकाले लिदै आएको ३३ लाख ५१ हजार रुपैयाँबाट संख्यात्मकरुपमा करदाताको बृद्धिगरी आगामी वर्ष ६ करोड रुपैयाँ पुर्याउने योजनामा महानगर छ।

महानगरपालिकाले महानगरक्षेत्र भित्र पर्ने अधिकांश पर्यटकीय स्थलहरुबाट मनग्य पर्यटन शुल्क उठाउने योजना अगाडि बढाएको छ।

महानगरका दर्जनौ पर्यटकीय स्थलहरुमा अहिले सम्म आन्तरिक तथा बाह्य पर्यटकहरुले विनाशुल्क प्रवेश गर्दै आएका थिए। अब भने महानगरपालिकाले आफ्नो मुख्य आयस्रोतकोरुपमा पर्यटक शुल्क लगाउने छ।

महानगरको नयाँ योजना अनुसार पर्यटकीस्थल डेभिज फल (पाताले छाँगो)मा यस आर्थिक वर्षमा ७ लाख २१ हजार ७ सय जना पर्यटक न्यून शुल्कको टिकट काटेर प्रवेश गरेको बताउँदै टिकट शुल्क दर बढाएर महानगरले कर लिने उल्लेख गरेको छ। 

यहाँ उठेको शुल्क स्थानीय छोरेपाटन माविको व्यवस्थापन र सञ्चालनमा खर्च हुने रकमलाई महानगरले वार्षिक एकमुष्ट प्रदानगरी नयाँ शुल्क निर्धारण गर्ने योजना अगाडि बढाएको छ।

आगामी आर्थिक वर्षदेखि महानगरले पर्यटकका लागि टिकटको व्यवस्था गरी २२ करोड ४९ लाख लाख ५० हजार आम्दानी हुने र छोरेपाटन मावि सञ्चालनका लागि २ करोड ६२ लाख प्रदान गर्ने जनाएको छ। 

महानगरले दिने टिकटको दर भने नेपाली विद्यार्थीलाई १ सय, आन्तरिक पर्यटकलाई २ सय र विदेशी पर्यटकलाई ५ सय रुपैयाँ तोकिएको छ। 
एक ठाउँमा टिकट लिएपछि महानगरभित्रका अन्य ठाउँ घुम्नको लागि टिकट लिन नपर्ने योजनामा महानगर छ। 

आगामी वर्षदेखि हाड, सिङ, छाला र कवाडी संकलन शुल्क पनि महानगरले उठाउने भएको छ।यसबाट २ करोड रुपैयाँ महानगरले प्राप्त गर्ने योजना बनाएको छ। 

सवारी साधन करबाट ३ करोड ५० लाख, सेवा शुल्कमार्फत ४ करोड ५ लाख, नक्सापास दस्तुरमार्फत १७ करोड रुपैयाँ, विज्ञापन करबाट १ करोड ३० लाख, व्यवसाय करबाट ४ करोड, मालपोत तथा भूमिकरबाट ५ लाख, मनोरञ्जन करबाट १ करोड लगायतबाट कर असुल गर्ने लक्ष्य महानगरपालिकाको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell