काठमाडौँ : नेकपा एमाले निकट युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको बैठक भदौ १६ र १७ गते काठमाडौँमा हुने भएको छ।
बैठकले संगठनको स्थायी समितिले आगामी असोज २२ देखि २४ गतेसम्म नवौं महाधिवेशन काठमाडौँमा गर्नका लागि गरेको निर्णयलाई अनुमोदन गर्नेछ।
यसअघि सङ्घले महाधिवेशनलाई भव्य तथा मर्यादित बनाउन मूल समारोह समिति गठन गरी अध्यक्ष राजीव पहारीलाई संयोजक तथा उपाध्यक्ष दिलु पन्तलाई उपसंयोजक जिम्मेवारी प्रदान गरेको छ।
महाधिवेशन सम्पन्न गर्न लाग्ने खर्च तथा स्रोत व्यवस्थापनका लागि बैठकले छलफल गर्नेछ। प्रतिनिधि छनोटका आधार तथा मापदण्ड तयार गर्नेछ। विभिन्न उपसमिति गठन गरी विभिन्न नेतालाई जिम्मेवारी प्रदान गर्ने उपाध्यक्ष पन्तले जानकारी दिइन्।
केन्द्रीय कमिटीका पदाधिकारी तथा केन्द्रीय सदस्य, विभिन्न ३१ विभागका सचिव तथा प्रदेश नं ३ का नगर समितिका अध्यक्षलगायतको सहभागितामा हुने महाधिवेशनले केन्द्रीय नेतृत्वसमेत छनोट गर्नेछ।
यसपटक महाधिवेशनमा ‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान’ भन्ने मूलनारा तय गरिएको छ। राष्ट्रिय स्वाभिमान र संविधान पूर्ण कार्यान्वयन नै संगठनको मूल कार्यदिशा बनाइएको छ। रासस