PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

भारतको सर्वोच्च अदालतको फैसलाः तलाक भनेर सम्बन्ध विच्छेद गर्नु संविधानको उल्लंघन



रासस

भारतको सर्वोच्च अदालतको फैसलाः तलाक भनेर सम्बन्ध विच्छेद गर्नु संविधानको उल्लंघन
फोटो श्रोतः nationalistonline.com

नयाँदिल्ली :  भारतको सर्वोच्च अदालतले भारतीय मुस्लिम समुदायका पुरुषले विवाह र सम्बन्ध विच्छेदका सम्बन्धमा गर्ने गरेको एक विवादास्पद निर्णयलाई खारेज गरिदिएको छ। 

मुस्लिम समुदायका पुरुषले तीन पटकसम्म तलाक शब्द प्रयोग गरेपछि आफ्नी श्रीमतीसँग अलग हुने र सम्बन्ध विच्छेद नै गर्न पाउने धार्मिक मान्यता थियो। 

यसलाई उनीहरुले कानुनी मान्यताकै रुपमा पनि अभ्यास गर्दै आएका थिए। तर आज उक्त प्रावधानलाई अदालतले खारेज गरिदिएको छ। 

भारतीय सर्वोच्च अदालतको इजलासले यसरी तीन पटकसम्म तलाक गरेर श्रीमतीलाई तुरुन्तै सम्बन्ध विच्छेद गर्न पाउने गरी गरिएको यो अभ्यासले संविधानको उल्लङ्घन गरेको फैसला सुनाएको छ। 

फैसलामा पाँच न्यायाधीश थिए। ती पाँच न्यायाधीश हिन्दू, इस्लाम, सिख, क्रिश्चियन र जोरोआस्त्रानियम धर्मका रहेका थिए। 

उनीहरुले लामो समयदेखि गहन अध्ययन गरी फैसला सुनाएका बताइएको छ। अदालतले  एकतर्फी रुपमा पुरुषले मात्र सम्बन्ध विच्छेद गर्न पाउने गरी गरिएको यो अभ्यासले महिलामाथि हिंसा नै गरेको ठहर गरेको छ। 

फैसलामा भनिएको छ– पाप के हो भन्ने धार्मिक आस्थामा लेखिएका वा भएका कुरा कानुनको आँखामा मान्य नहुन पनि सक्छन्। 

विवादास्पद निर्णयलाई उच्च अदालतले गरेको खारेजलाई एक ऐतिहासिक निर्णय भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ट्वीटरमार्फत बताएका छन्। 

फैसलाले मुस्लिम महिलाहलाई समानताको अधिकार दिएको र महिला सशक्तिकरणको दिशातर्फ यो मजबूत कदम भएको पनि मोदीले बताएका छन्। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell