PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

दक्षिण एसियामा बाढीका कारण दुर्इ करोड चालीस लाख मानिस प्रभावित



रासस

दक्षिण एसियामा बाढीका कारण दुर्इ करोड चालीस लाख मानिस प्रभावित

जेनेभा :  अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले दक्षिण एसियामा वर्षापछि आएको बाढीका कारण अगष्ट महिनाभरमा कम्तीमा दुई करोड ४० लाख मानिस प्रभावित भएका जनाएको छ।  

बाढीका कारण ठूलो भूभाग डुबानमा परेको छ। बङ्गलादेश, भारत र नेपालमा गरी अगष्ट १० पछि ७५० जनाको मृत्यु भएको सम्बन्धित देशका अधिकारीले जनाएका छन्।

वर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण ठूलो धनराशी बराबरको कृषिजन्य उत्पादनको क्षति भएको छ। 

एसियाली केही मुलुकमा बाढीका कारण अवस्था थप खराब बनिरहेको, रेडक्रसका सह महासचिव जगन चापागाईँले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

नेपालका झण्डै एक तिहाई जनसङ्ख्या बाढीका कारण प्रभावित भएका उनले बताए। उनले बङ्गलादेशमा पनि बाढीका कारण एक तिहाई जनसङ्ख्या प्रभावित भएको बताए। 

दक्षिण एसियामा बाढी तथा डुवानको समस्या केही दशक यताको तुलनामा सभैभन्दा नराम्रो भएको रेडक्रसले जनाएको छ। 

यी मुलुकका केही गाउँहरू डुवानमा परेका कारण खाद्यान्न तथा अन्य आधारभूत सामग्री डुङ्गाको सहायतामा पुर्याउनुपर्ने अवस्था आएको रेडक्रसले जनाएको छ। 

बाढी तथा डुवानको समस्या विस्तारै उत्तरबाट दक्षिणतर्फ बढेको बताउँदै चापागाईँले भने प्रभावितको सङ्ख्या प्रतिदिन बढ्दो अवस्थामा रहेको छ। 

मनसुन तथा पानीको यथोचित व्यवस्थापन नहुँदा समस्या विकराल बनेको उनको भनाई छ। रेडक्रसले नेपालमा ३६ लाख अमेरिकी डलर बराबरको सहयोगका लागि अन्तराष्ट्रिय समुदायसँग अपील गरेको छ।

चापागाईँले यस्तै सहयोग भारत र बङ्गलादेशका लागि पनि अनुरोध गरेको छ। रासस/एएफ्पी 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell