PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

हवाई कारबाहीमा परी यमनमा कम्तिमा ३० सर्वसाधारणको मृत्यु



रासस

हवाई कारबाहीमा परी यमनमा कम्तिमा ३० सर्वसाधारणको मृत्यु

सानाः यमनको राजधानीमा बुधबार भएको एक हवाई कारबाहीमा कैयौ सर्वसाधारण मारिएका प्रत्यक्षदर्शी र स्थानीय सञ्चार माध्यमले जनाएका छन्। 

यमनको राजधानी सानामा नियन्त्रण जमाएर बसेका विद्रोही समूह हुथीले सञ्चालन गरेको टेलिभिजन च्यानलका अनुसार कारबाहीमा परी ३० भन्दा बढी सर्वसाधारण मारिएका छन्। 

यमनी सरकारलाई समर्थन गर्दै आएका साउदी अरेबिया आवद्व संयुक्त गठबन्धनले हवाई कारबाही जारी राखेका हुन्। 

हालसम्म कारबाहीका क्रममा कति व्यक्तिले ज्यान गुमाएका छन्, यसको एकिन सङ्ख्या भने प्राप्त भएको छैन। राजधानी सानामा बुधबार कैयौ पटक भएको हवाई कारबाही ‘काट फाम’नजिकै रहेको भवन निर्माणमा सहभागी कामदारसमेत परेका स्रोतले जानकारी दिएको छ। 

हुथी विद्रोहीहरुको इलाकामा बसोबास भएको आशङ्कामा सो कारबाही भएको बताइएको छ। 

साउदी अरेबियाको समर्थन रहेको यमन सरकार र इरानको समर्थन रहेको हुथी विद्रोहीबीच सन् २०१५ बाट सुरु युद्धमा हालसम्म आठ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ। 

यमनमा हालका दिनहरुमा साउदी अरेबियाआवद्ध हवाई कारबाही बारम्बार हुने गरेको छ। यस्ता कारबाहीमा निर्दोष सर्वसाधारणको ज्यान गुमाउने क्रम पनि जारी छ। 

गत जुनमा उत्तरी यमनको बजार इलाकामा भएको हवाई कारबाहीमा परी २४ सर्वसाधारण मारिएका थिए। रासस/एएफपी 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell