गत साउन २८ गते बिहानैदेखि बाढीले डुबान गरेको समाचार आउन थालेका थिए।
‘बाढीले पूरै गाउँ जलमग्न’,
‘बाढीले बेपत्ता’,
‘बाढीले बगायो।’
यस्तै शीर्षकका समाचारले संकेत गरिसकेको थियो- देश विपत्तिको भासमा धकेलियो।
जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै पानी पर्नसक्ने बताइसकेको थियो। जनसङ्ख्या तथा वातावरण मन्त्रालयले फेसबुक, ट्विटर र मोबाइलमा म्यासेज गरेर अत्याधिक पानी परेको क्षेत्रका जनतालाई सचेत गराइरहेको थियो।
नभन्दै साँझसम्ममा बाढीले धेरै ठाउँमा वितण्डा मच्चाइसकेको थियो। समाचार सिरिङ्ग पार्ने दृश्यहरु टेलिभिजनका पर्दामा देखिन थालेका थिए।
२९ गते सोमवार अफिस नपुग्दै फोन आयो।
‘बाढी पीडित क्षेत्र सप्तरी जाने हो ?’ फोटो पत्रकार गगन थापाले सोधेका थिए।
मैले जान्न भन्न सकिन्। जान्छु भन्नका लागि अफिसमा सोध्नुपर्ने थियो।
अफिसबाट 'जाउ' भन्ने संदेश पाएर निस्किँदा बिहानको ११ बजिसकेको थियो। तर, गाडी चढ्दा साँझको ६ बज्यो। पूरै दिन त गाडीकै प्रतीक्षामै बित्यो। हामी त्यो गाडीमा जाँदै थियौं जसमा राहत सामग्री लोड गरिएको थियो।
कोटेश्वरबाट गाडी हिड्यो। सप्तरीकै तीन जना युवा राहत बोकेर तिलाठी हिँडेका थिए। हामी सप्तरीसम्म उनीहरुसँगै जाने योजनाले ढिलो भएका थियौं।
सिन्धुलीको बाटो राति हिड्न अनुमति छैन। राहत बोकेका कारण हामी ढुक्क भएर हिँडेका थियौं। बाटामा हामीले सोचेजस्तो भएन। ठाउँठाउँको चेकपोष्टले हामीलाई अनेक सोधपुछ गर्दै छोड्यो। तर, दुम्जाको चेकपोष्टमा ठूलै लफडा पर्यो।
‘माथिको आदेश छ नछोड्नु भन्ने।'
'हामी पनि सुत्नुपर्छ।’
एक घण्टा रोकेपछि यसो भन्दै प्रहरी अधिकृतले हामीलाई कृपा गरे झै जान दिए।
मध्यरातमा हामी निदाउन सकेका थिएनौं। तराई सबै जलमग्न थियो। हामीसँगै गएका साथीले गाड्ने र जलाउने ठाउँ नभएर कोशीमा बगाएको बालकको फोटो देखाए। त्यो फोटो त्यतिबेला देश विदेशका सबै सञ्चार माध्यममा छाइसकेको थियो। हामीसँगै तराई जाँदै गरेका अजय मण्डलले बताए, ‘हाम्रो गाउँकै बच्चाको फोटो हो यो।’
अजयसँग रातभर कुरा भयो। उनले तराई डुबानको कारण र परिणाम सुनाउँदै भने, ‘म बच्चा हुँदादेखि डुबान परेको थाहा छ।अवस्था अहिलेसम्म उस्तै। नदी नियन्त्रणमा आएको बजेटबाट नेताले पेट भरे। कोसीको पानी यतै फर्केर वर्षेनी ताण्डव मच्चाएको छ।’
कहिले उज्यालो होला र बच्चा बगाउनेको परिवार भेटुँला भन्ने भइरहेको थियो। रातभर निद्रा लागेन।
मंगलबार बिहान उज्यालो नहुँदै राजविराज पुगियो। राहतका सामानहरु झारियो। त्यसपछि सँगै गएका साथीहरु महत्वपूर्ण काम छ भनेर हिँडे। राहत वितरण उनीहरुको प्राथमिकतामा परेन।
राजविराज चोकबाट बच्चा बगाएको ठाँउसम्म जान ५० किलोमिटर तय गर्नु थियो। हिड्न सम्भव थिएन। गाडी जाँदैन थियो। हामीले ब्याट्रीबाट चल्ने रिक्सा खोज्यौं। रिक्सावाला अनकनाउँदै जान तयार त भए तर महँगो भाडा मागे। हामी तिर्न बाध्य भयौं।
बिहान घाम चर्को थियो। रिक्सावालाले बाढी पीडित गाउँको बयान गरिरहे।
‘माँ कसम यो क्षेत्रमा गतिलो नेता र देशमा एउटा मात्र गतिलो प्रधानमन्त्री आएको भए हाम्रो वर्षौदेखि यो हालत हुन्न थियो।’
हामी उनको कुरा सुनिरह्यौं। प्रतिक्रिया जनाउनुपर्ने कुरा थिएन। उनी गफिँदै गए, ‘सप्तरीबाट धेरै नेता मन्त्री भए कसैलै काम गरेनन्। मधेशको नाम भजाएर नेताहरुले राजनीति गरिरहेका छन्। हामी जनता पनि उस्तै छौं। कसैले थोरै केही दिएको लोभमा उनीहरुलाई विस्वास गर्छौं।’
अलिकति अगाडि बढ्नासाथ जलमग्न क्षेत्र देखिन थाले। घर पूरै डुबानमा थियो। धानखेत पोखरीमा रुपान्तरित। गाईवस्तु सडकमै अलपत्र।
वस्तुभाउसँगै मानिसहरु पनि सडकमै। खुला आकाशमुनि थिए सबै। राहतका लागि केही पुगेको थिएन।
हाम्रो पहिलो प्राथमिकता बालक बगाएको ठाउँमा पुग्नु थियो। तर, त्यहाँ पुग्न १० गाउँ पार भएर जानुपर्ने रहेछ। गाउँका मानिस हामीलाई देख्नासाथ तानेर घर देखाउन चाहन्थे।
‘घर, अन्नपात, खेत सबै बगायो हजुर अब के खाएर बाच्ने?’
सबैका वेदनाका एकै स्वर। हामी सुन्न बाहेक के पो गर्न सक्थ्यौं?
तीन दिनदेखि भोकै मानिसहरु भेटिए। खाने पानी थिएन, धमिलै पानी पिउन वाध्य रहेका थिए। सरकारी टोलीले यहाँसम्मको दुरी तय गरेको थिएन। खेत सबै डुबानमा भएकाले दिसापिसाब पनि सडकमै! सबैतिर दुर्गन्ध मात्रै।
पीडादायी जीवन र मानिसको संघर्ष हेर्दै हामी बच्चा बगाएको गाउँ कुलाडी पुग्यौं। मानिसहरु पीडा पोख्ने ठाउँ खोजिरहेका रहेछन्। हामी पुग्न नपाउँदै घेरियौं। वेदनाका कथाहरु सुनाउन उनीहरु हतारिए।
‘तीन दिन भो' हजुर खान पाएको छैन्। पानी समेत छैन। बच्चाहरु बिरामी पर्न थाले।’
बच्चा बगाएर शोकमा डुबेको गाउँमा भोकमरी र झाडापखालाको उत्तिकै प्रकोप सुरु भइसकेको थियो।
हामीले कमलु सदाको आमा विमलुलाई भेट्यौं। चिसो भुईँमा लडिरहेकी थिइन् उनी। हामी पुगेपछि स्थानीयले उनलाई उठाए।
उनीसँग कसरी कुरा गर्ने हामी अलमलमा पर्यौं। सोध्ने पो के?
स्थानीयले नै धेरै कुरा सुनाए। लामो समयपछि उनलाई मैले भने, ‘केही त खानुस् झनै बिरामी पर्नुहोला।’
‘खान मन भए'पो खानु। तै पनि यहाँ कस्ले के खान पा'को छर! के छ र खानु खै?’
गहभरि आँसु पार्दै उनले सुनाइन् पीडाको कथा - ‘म पनि छोरा च्यापेर माथि रोडमा निस्कन लागेँ। तर, बाढीको अगाडि केही जोर चलेन। हेर्दाहेर्दै कमलु डुब्यो। बाहिर निकाले पनि उसलाई बचाउन सकिएन।’
कमलुका दाइ लालकु आमासँगै बसेर हामीलाई टुलुटुलु हेरिरहेका थिए। टाँक नभएको निलो सर्ट र खिप नभएको निलो स्कुलको पाइन्टलाई एकहातले समाएर एकतमासले हामीलाई हेरिरहेका थिए उनी।
सोधेँ, ‘के खायौ? ’
उनले भोक लागिरहेको बताए। केही छिनपछि लालकुले सुनाए, ‘अब त मलाई स्कुल जान पनि मन छैन। यो ठाउँमा बस्न नै डर लाग्छ। कुन दिन मलाई पनि बगाउने हो।’
त्यहाँ उनीहरुसँग कुरा गरिरहँदा उनका बाबु देखिएका थिएनन्। लालकुले सुनाए, ‘बुबा काम गर्न जानु भएको फर्किनु भएको छैन।’
बस्तीमा पानी कम भइसकेको थियो। लालकु र विमलीले उनीहरुको घर देखाउन लगे। मुसहर बस्ती। झिक्राले बेरिएका झुपडीहरु। बेराघेरा केही थिएन्। घुडाँघुडाँसम्मको पानी छिचोल्दै त्यहाँ पुग्यौँ।
घरका सामान बगाएको रहेछ। घर रित्तो। भत्केको माटोको चुल्हो। चुल्होले आगो नदेखेकै साता वितिसकेको थियो।
त्यही बेलामा लालकुको बुबा फुदन हुत्तिँदै आइपुगे। उनको आफ्नै कथा थियो पीडाको।
धरानदेखि २ दिन हिडेरै उनी यहाँ आइपुगेका थिए। उनीहरुको पीडाबीचकै पारिवारिक मिलनले हामी नै भावुक भयौं। फुदनको आँखाले छोरो कमलुको अनुहार खोजिरहेको अनुभूति भयो। तर, २ दिनअघि नै कोसीमा छोरो बगिसकेको थियो।
कमलु बगाएको तेस्रो दिनसम्म दाह संस्कार गरिएको थिएन। त्यसका लागि पैसा रहेनछ।
केही समय पीडाको सरोबारबाट हामी राजविराजतिर फर्कियौं। हामी फर्किँदै गर्दा कमलुको दाजु लालकु हामीलाई पछ्याइरहेको देख्यौं। हामीले उनलाई पैसा दियौं। मलिन अनुहार केही फेरियो। उ फर्कियो। आफूसँग भएको केही पैसा हामीले उसका बाबुलाई दिएका थियौं।
बाटोमा फर्कँदै गर्दा डाक्टर सिके राउत भेटिए। सप्तरीकै उनी बाढी प्रभावित क्षेत्रको निरीक्षणमा थिए। हामी दुवैको हातमा क्यामरा देखेपछि राउतका कार्यकर्ताले रोके।
परिचयपछि सोधे, ‘कुराकानी छापिन्छ कि नही?’
‘भन्न सकिँदैन जे पनि हुन सक्छ,’ मैलै भने।
राउत कुराकानी गर्न तयार भए।
राउतको वरिपरि बाढी पीडितहरुको भिड जम्मा भयो। मैले उनलाई प्रश्नभन्दा पनि सुझाव दिएँ, ‘मानिसहरुले खान पाएका छैनन। पिउन पाएका छैनन। राहत लिएर आउनुस् निरीक्षण गरेर के हुन्छ।’
राउतले राहत त सरकारले दिनुपर्ने बताए। मधेसवादी दल र सरकारले केही नगर्दा बाढी पीडितको बिजोक भएको सुनाए।
उनले बोल्दा पीडामा रन्थनिरहेका मानिसहरु ताली बजाउँथे। राहत र उद्दारको साटो पीडाको राजनीतिक विनिमय गरिरहेका थिए राउत।
‘मधेशका जनतालाई सरकारले उपेक्षित गरेको छ। हेपेको छ। सरकारले हामीलाई जनता मान्दैन। मधेशका जनताले कर तिर्नु हुँदैन। मधेश सरकार छुट्टै चाहिन्छ। मधेशको नाम भजाएर जनता लुटेर खाने दलमात्र भए।’
फिल्मी शैलीका डाइलग। सुन्नेहरु ताली पड्काउँथे। १० मिनेटपछि उनीसँग बिदा भइयो।
बाटामा रिक्सावाला दाइले फेरि भने, ‘मधेशलाई छुट्टै देश बनाउनुपर्छ भनेर भोट गर्ने हो भने राउतको पक्षमा धेरै ठूलो समर्थन छ।’
राजविराज आइपुगियो। समाचार पठाउनको लागि राजविराज बजार एक चक्कर लगाइयो। बत्ती नै थिएन।
समाचार त साँझमा बल्लतल्ल पठाइयो। बिहानको खाना दिउसोको ४ बजे खाइयो र राति केही खाइएन।
भोलिपल्ट बिहान रिक्सावाला दाइलाई बेलाएर हामी फेरि बाढी प्रभावित क्षेत्रमा गयौं। सबै गाउँ बेहाल थियो। राहत अझै पुगेको थिएन। अघिल्लो दिन झै हामीलाई देख्ने बित्तिकै सबै घर देखाउन चाहन्थे। वेदनाका पोकाहरु फुकाउन चाहन्थे।
कुशाहा, टिकुली, जोगनिया, लौनिया, कुलाडी, वनरधुलियक र मलनिया गाउँ दिनभरी डुल्यौ। खाना नपाएर माछा मारेर ज्यान जोगाउन लागिरहेका दृश्य त कै भोकको झोकमा झोक्राएका अनुहार। पानी अन्न र औषधिको अभाव।
सबै गाउँमा शोक। सबैमा भोक। र सबैमा रोग थियो। सबै राहतको पर्खाइमा थकित भइसकेका।
अर्को दिन हामी सप्तरीको तिलाठी पुग्यौं। सीमामै बनाएको तटबन्धका कारण भारतीयसँग झडप गरेका नेपालीलाई भेट्ने प्रयास विफल भयो। बाढीले डुबान पारेको उक्त क्षेत्रका स्थानीयको अवस्था उस्तै थियो।
‘अब हामी के खाने?
न घरको बाँकी छ न खेतको’ – यस्तैयस्तै सुनियो।
सप्तरी यात्रा क्रममा धेरै बाढी पीडितसँग भेटियो। समस्यासँगै उनीहरुसँग त्यसको कारण पनि छ। समाधानको उपाय पनि छ। गाउँमा पुग्ने हामीजस्ता सबैसामु उनीहरु पीडा र त्यसबाट बच्ने उपाय पनि सुनाउँछन्। हामीले पनि सुन्यौं तर हामीले गर्न सक्ने केही थिएन – सुन्नेबाहेक।
जसले सुन्नुपर्ने थियो, हामी फर्केर काठमाडौं आइपुग्दा पनि उसले सुनेकोजस्तो अनुभव भएन।