PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

किन नेपालीको स्मृतिमा ताजै छन् टोनी हेगन ?



रासस

किन नेपालीको स्मृतिमा ताजै छन् टोनी हेगन ?
फोटो श्रोतः http:tonihagen-stiftung.ch

  • गौतमबुद्ध बज्राचार्य 
काठमाडौँ :  सन् १९५० अक्टोबर २४ मा पहिलो पटक नेपाल आएका  स्वीट्जरल्याण्डका विख्यात भूगर्भशास्त्री डा टोनी हेगन नेपाली जनताको स्मृतिको मानसपटलबाट अझै हराएका छैनन्।

जन्मभूमि स्वीट्जरल्याण्ड भएपनि आफ्नो जीवनको सम्पूर्ण समय नेपालमा बिताएका डा हेगनले भूगर्भशास्त्रको माध्यमबाट ‘सगरमाथा नेपालमा छ’ भनेर विश्वमा चिनाएका थिए। 

नेपाल भौगर्भिक समाज तथा टोनी हेगन फाउण्डेशन नेपालले संयक्तरुपमा बुधबार आयोजना गरेको डा टोनी हेगन शतवार्षिकी समारोहमा वक्ताले टोनी हेगनलाई नेपालीले कहिल्यै बिर्सन नसक्ने बताए। 

नेपाल भौगर्भिक समाजका अध्यक्ष दण्डपाणि अधिकारीले भने, ‘टोनी हेगन नेपालको भ्रमणमा आउनु हने पहिलो विदेशी पर्यटक हुनुहुन्थ्यो।
त्यसबेला सडक तथा बाटोघाटो नभएको तथा सवारी साधन नभएको समयमा डा हेगनले भारतदेखि नेपालको हिमाल, पहाड, तराईको १४ हजार किलोमिटर पैदल यात्रा गरी नेपालको पहिलो पटक भौगर्भिक सर्भे गरी नक्सा तयार गर्नुभएको थियो।’ 

उनको टोलीले नै ‘अन्नपूर्ण सर्किट’को पहिचान गरी एक दशक लामो अध्ययनपछि सन् १९६८ मा जियोलोजिकल सर्भे नेपाल प्रकाशमा ल्यायो।

सन् १९६० अघिसम्म नेपालमा झोलुंगे पुल नै थिएन। सर्वसाधारण नागरिक पौडेर वा विभिन्न माध्यमबाट नदीहरु तर्नुपर्ने बाध्यता थियो।

भेरी नदी जस्ता ठूल्ठूला नदी तर्नु कम कठिन कार्य थिएन। सन् १९६० मा डा हेगनको अगुवाईमा नेपालमा झोलुङ्गे पुल निर्माण भएपछि नदी तरेर ओहोरदोहर गर्न नेपाली जनतालाई सहज भयो। 

नाष्टका प्राज्ञ दीपक ज्ञवालीले सन् १९५९ मा पहिलो पटक ‘रोपवे इन नेपाल’ भन्ने पुस्तक प्रकाशमा आएको जानकारी दिँदै आफ्नो जीवन नेपालका लागि समर्पित गरेका टोनी हेगन नेपालका लागि ‘रोल मोडल’ भएको विचार व्यक्त गरे। 

नाष्टका उपकुलपति जीवराज पोखरेलले टोनी हेगनले नेपालका भूगर्भशास्त्रीमा प्राज्ञिक ज्ञान बढाएको भन्दै नेपालको पहिचानलाई नेपाल बाहिर पुर्याउने हेगन नेपाली भूगर्भशास्त्रीका महान् गुरु तथा अनुकरणीय व्यक्तित्व भएको बताए। 

त्रिविका उपकुलपति तीर्थराज खनियाँले हेगनका अधूरा काम पुरा गर्न नेपाली भूगर्भविद्ले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए।

टोनी हेगन फाउण्डेशनका अध्यक्ष डा प्रमोदकुमार झाले हेगनले लेख्नुभएको पुस्तक ‘डिसेन्ट्रलाइजेसन एण्ड डिभलपमेन्ट’ र सो को नेपाली अनुवाद ‘विकेन्द्रीकरण र विकास’ प्रकाशमा आइसकेको जानकारी दिए । 

नेपालमा चिज कारखानाको विकास, पर्यटन, झोलुङ्गेपुल तथा भौगर्भिक क्षेत्रमा दिएको योगदानबाट उनी नेपाली भूगर्भविद्का लागि महान गुरु भएको बताए।

उनी फोटोग्राफीमा पनि सिद्धहस्त थिए। उनले सन् १९९९ मा ‘दी रिंग अफ दी बुद्ध’ नामक वृत्तचित्र निर्माण गरेका थिए। 

सन् १९१७ अगष्ट १७ मा जन्मिएका हेगनको ८५ वर्षको उमेरमा सन् २००३ को अप्रिल १८ मा स्वर्गारोहण भएको थियो। उनीलाई श्री ५ वीरेन्द्रबाट शुभराज्याभिषेक पदक तथा गोरखा दक्षिणबाहुसहित मानार्थ नेपाली नागरिकता पनि दिइएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell