PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

प्रधानमन्त्री देउवालाई ‘गार्ड अफ अनर’ प्रदान



रासस

प्रधानमन्त्री देउवालाई ‘गार्ड अफ अनर’ प्रदान

नयाँदिल्ली :  भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय राष्ट्रपति भवनमा आज बिहान आयोजित विशेष समारोहमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। 

विशेष समारोहमा सरिक हुने क्रममा प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए । 

सो अवसरमा सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले खुला सिमाना र अरू विशिष्ट सम्बन्धका कारण नेपाल–भारत सम्बन्ध महत्वपूर्ण रहिआएको बताए।

प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार भारतको औपचारिक राजकीय भ्रमणमा नयाँदिल्ली आएका हुन्। 

प्रधानमन्त्री देउवाले आजै बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गरे। 

प्रधानमन्त्री देउवासँग विदेशमन्त्री स्वराजको भेट 

प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति भवनमा आजै शिष्टाचार भेट गरेकी छन्। भेटमा उनीहरुबीच नेपाल र भारतको बीचमा विगतमा भएका सन्धि सम्झौताहरु कार्यान्वयनको तहमा ल्याउने विषयमा छलफल भएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले जानकारी दिए। 

राजदूत उपाध्यायले विगतमा देखिएका समस्याको समाधानका लागि के कसरी अगाडि बढ्नुपर्छ र राजनीतिक इच्छाशक्ति कसरी कायम गर्ने भन्ने बारेमा पनि भेटमा छलफल भएको जानकारी बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell