PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

अस्पतालको इमर्जेन्सीबाट उठेर बाढी पीडितको उपचारका लागि हिँडे डाक्टर गोविन्द केसी



सागर बुढाथोकी

अस्पतालको इमर्जेन्सीबाट उठेर बाढी पीडितको उपचारका लागि हिँडे डाक्टर गोविन्द केसी
फोटो सौजन्य : गगन थापा

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसी बाढी पीडित क्षेत्रमा स्वास्थ्य शिविर चलाउन सप्तरीको कञ्चनपुर जाने तयारीमा थिए। बिहान ५ बजेको काठमाडौंबाट हिड्ने तयारी थियो। तर, अकस्मात विसन्चो भयो र ४ बजे इमर्जेन्सीमा भर्ना भए।

पेटको माथिल्लो भाग दुखेर उनी अस्पताल भर्ना भए । केही घण्टापछि उनको स्वास्थ्यमा सुधार भयो। उनीसँग जान तयार भएका स्वयमसेवक विद्यार्थीहरु गाडीमा राहतका सामानहरु ‍औषाधि लत्ताकपडा र खाद्यान्न बोकेर गाडीमा हिँडे।
डाक्टर केसीको लागि विराटनगरको प्लेन टिकट बुक भयो।

डाक्टर केसीसँग तराई यात्रामा हिँडेका विद्यार्थी नारायणा कँडेल भन्छन्, ‘हाम्रो यात्रा स्थगित हुन लागेको थियो। तर, उहाँले मलाई ठीक हुन्छ जानुपर्छ भन्नुभयो। नभन्दै उहाँको स्वास्थ्यमा सुधार आउँदै गयो। उहाँले १२ बजेको फ्लाइटबाट विराटनगर ओर्लेर आउँछु तिमीहरु जाँदै गर भनेकाले हामी गाडीमा आयौं। उहाँ फ्लाइटमा जानुभएको छ।’

२३ दिनपछि १२ औ अनशन तोडेका डाक्टर केसी सप्तरीको कञ्चनपुर जान लागेका थिए। डाक्टरहरुले अझै आरामको जरुरत भएको बताए पनि उनी बाढी पीडितहरुलाई आफ्नो आवश्यकता रहेको भन्दै बिहान ५ बजे नै हिँड्ने तयारीमा थिए।

तर, उनी इमर्जेन्सीमा भर्ना भएकाले बिहान ५ बजेको यात्रा १२ बजे सर्यो। केसी अस्वस्थ भएका कारण फ्लाइटबाट गए भने ६ जना विद्यार्थीहरु सामान लिएर गाडीमै गए।

केसी फ्लाइटबाट विराटनगर पुगिसकेका छन्। बेलुकासम्म कञ्चनपुर पुग्ने कँडेल बताउँछन्।

देशलाई बाढीको प्रकोपले असर पारेको भन्दै अनशन स्थगित गरेका केसी आइसियुमा भर्ना भएका थिए। अस्पातलमै आराम गरिरहेका उनले अनसश स्थगित गरेको ९ दिनमात्र भएको छ।

कँडेलका अनुसार केसीले आफ्ने खर्चमा राहत सामाग्री जम्मा पारेका थिए। ‌औषधि, लत्त्ताकपडा र खाद्यान्न शिविरमा वितरण गर्ने र स्वास्थ चेकजाज गर्ने केसीको कार्यक्रम छ।

कञ्चनपुरमा २ दिन शिविर चलाएर फर्कने  डाक्टर केसीसँग गएका मेडिकल विद्यार्थी कँडेल बताउँछन्। कञ्चनपुर गएर उनले महिला र बालबालिकाहरुलाई खाद्यान्न र लत्ताकपडा वितरण गर्नेछन् भने विरामीको चेकजाज गरेर औषाधि वितरण गर्नेछन्।

कँडेल भन्छन्, ‘झाडापखाला, ज्वरो, छालाको औषधि र अन्य औषधिहरु बोकेका छौं। हामी त्याहाँको बाढी पीडितलाई निको पारेर फर्कन्छौं। ’
केसी यसरी विभिन्न ठाउँमा पुगेर उपचार गर्न थालेको पहिलोपटक भने होइन। देश तथा विदेशमा विपत्त पर्दा उनी सेवामा खटिएका हुन्छन्। उनले देशको ७५ वटै जिल्लामा शिविर सञ्चालन गरिसकेका छन्।

२०७२ साल जेठमा डाक्टर गोविन्द केसी जाजरकोटमा फैलिएको स्वाइन फ्लुको महामारीको उपचार गर्न जाजरकोट पुगेका थिए। महामारीले जाजरकोटमा ८ जनाको मृत्यु भइसकेको थियो भने धेरै मानिसहरु प्रभावित भएका थिए।

औषाधि उपचार केही पुगेको थिएन्। केसीले शिविर चलाएर उपचार सुरु गरेपछि त्यहाँका धेरै मानिसहरु मृत्युको मुखबाट जोगिएका थिए।
जेठ १२ गते भूकम्प गयो।  राजधानीमा धेरै क्षति भएको समाचार सुनेपछि केसी काठमाडौँ फर्किएर भूकम्प पीडितको उपचारमा लागे। त्यहाँबाट उनी सिन्धुपाल्चोक र रसुवाका गाउँ गाउँमा पुगेर भूकम्पमा घाइते भएकाको उपचार गरे।

केसीले २०४४ सालमै सप्तरीको बरथवामा स्वास्थ्य शिविर चलाएका थिए।

बंगलादेशको सामुद्रिक आँधी, गुजरात भूकम्प, पाकिस्तानको भूकम्प र बर्माको सन्मुद्रीक आँधीले अस्तव्यस्त पार्दा उनी त्यहाँ पनि पुगेका थिए। विपतको बेला त्यहाँ पुगेर उनी स्वास्थ्य सेवा र उद्धारमा खटिएका थिए।

त्यसैगरी हाइटी भूकम्प, पाकिस्तानको बाढी, फिलिपिन्सको आँधी र बद्री केदार क्षेत्रको बाढीमा त्यहाँ गएर राहत, सेवा र उद्दारमा संग्लग्न थिए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell