
काठमाडौं : हंगेरीको बुढापेस्टमा हुने विश्व जुडो च्याम्पियनसिपमा नेपालबाट ओलम्पियन फुपूल्हामु खत्रीसहित तीन खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।
अगष्ट २४ देखि सेप्टेम्बर ४ तारिखसम्म हुने प्रतियोगिताको महिला ६३ केजीमुनि ओलम्पियन फुपूल्हामु खत्री र ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्नेछन्। यसैगरी पुरुष ८१ केजीमुनि मोहन सुनुवारले भाग लिने छन्। विश्व च्याम्पियनसिपपछि मोहनले आफ्नो २४ वर्षे खेल यात्रामा पूर्णविराम लगाउँदै छन्।
विश्व च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्रबहादुर हमालले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा बिदाइ गरे।
नेपाली टिम प्रशिक्षकमा पदमबहादुर बुढाथोकी तथा व्यवस्थापकमा नेपाल जुडो संघका कोषाध्यक्ष विपिनप्रसाद श्रेष्ठ रहेका छन्।
प्रतियोगिता दौरान अगष्ट २४ र २५ तारिखमा हुने आईजेएफ ओर्डिनरी कंग्रेसमा जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र महासचिव धर्मकुमार श्रेष्ठ सहभागी हुनेछन्।
अध्यक्ष बज्राचार्य बुधबारै बुढापेस्ट गइसकेका छन् भने महासचिव र कोषाध्यक्ष श्रेष्ठ बिहीबारै जाँदैछन्। प्रशिक्षक बुढाथोकी तथा खेलाडी फुपू र मनीता शुक्रबार जानेछन् भने अर्का खेलाडी मोहन अगष्ट २७ मा जाने कार्यक्रम छ।
प्रतियोगितामा विभिन्न १ सय ३६ राष्ट्रका खेलाडीले पुरुष-महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा गर्ने जुडो संघले जनाएको छ।