PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

न्यू डायमण्डलाई सोझो सेटमा हराउँदै एपीएफ च्याम्पियन



पहिलोपोस्ट

न्यू डायमण्डलाई सोझो सेटमा हराउँदै एपीएफ च्याम्पियन

डिफेन्डिङ च्याम्पियन शिवम् न्यू डायमण्ड एकेडेमीलाई पराजित गर्दै विभागीय टोली एपीएफले पोखरामा सम्पन्न राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधि जितेको छ।

पोखराको लामाचौरमा तीज महोत्सवको अवसरमा आयोजना भएको प्रतियोगितामा न्यू डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले दोस्रो पटक उपाधि जितेको हो।

फाइनलमा एपीएफले डायमन्डलाई २५–१८, २५–१८ र २५–१२ को सेटमा पराजित गरेको हो।

पहिलो संस्करण एपीएफले जितेपनि त्यसपछि लगातार चारपटक न्यू डायमण्ड च्याम्पियन बनेको थियो। पाँच वर्षपछि पोखरामा एपीएफले डायमण्डलाई हराएको हो।

यस्तै नेपाल पुलिसले पश्चिमाञ्चल भलिबल संघलाई ३-१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको छ।

व्यक्तिगत विधातर्फ सेमिफाइनल पुगेका चारै टोलीका खेलाडी उत्कृष्ट बने। प्रतियोगिताको उत्कृष्ट खेलाडी च्याम्पियन एपीएफकी सरस्वती चौधरी घोषित भइन्।

यस्तै उत्कृष्ट स्पाइकर न्यू डायमन्डकी प्रतिभा मालि, उत्कृष्ट सर्भर पश्चिमाञ्चलकी अरुणा शाही, उत्कृष्ट ब्लकर पश्चिमाञ्चलकै पवित्रा बिसी, उत्कृष्ट सेटर एपीएफकी बिनिता बुढाथोकी, उत्कृष्ट लिब्रो पुलिसकी कमला पुन तथा उत्कृष्ट क्वीकर एपीएफकी उसा विष्ट घोषित भइन्।

नवआदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा मंगलबारबाट सञ्चालन भएको प्रतियोगितामा च्याम्पियन बनेको एपीएफले नगद ७५ हजार हात पार्‍यो भने उपविजेता न्यू डायमन्ड एकेडेमीले ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले पुरस्कार प्रदान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell