काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत एकसाथ चार नेपाली फिल्म प्रदर्शनमा आएका छन्। फिल्महरु देश खोज्दै जाँदा, हामी स्काउट, हामी शरणार्थी र धुम २ सार्वजनिक भएका हुन्।
एउटै विषयमा फरक कथा बोकेको दुई फिल्म प्रकाश आङदेम्बेले निर्देशित फिल्म ‘देश खोज्दै जाँदा’ र अर्को विजय लिम्बु केरुङ निर्देशित फिल्म ‘हामी शरणार्थी। देश खोज्दै जाँदा भुटानी शरणार्थीहरुको जीवन भोगाइलाई यथार्थपरक रुपमा उतारिएको फिल्मको भुटानी शरणार्थीहरुको शिविर दमकमा केही दिन अघि प्रिमियर समेत गरिएको थियो। यस फिल्ममा भुटानी शरणार्थीहरुको शिविर बसाई अवधि र स्वदेश फिर्ती आन्दोलन तथा तेस्रो देश पुनर्वासको विषयलाई कथाको केन्द्रमा राखिएको छ। फिल्ममा बाबु बोगटी, अरुणा कार्की, हेमन्त बुढाथोकी, मिना कोइराला, तिब्बत राई, ओवेत साम्पाङ राई, सरीता ओली, शिवशंकर थापालगायतको अभिनय रहेको छ भने उपेन्द्र सुब्बाको पटकथा, संजय लामाको छायाङ्कन, मनोरञ्जन श्रेष्ठको सम्पादन रहेको छ। त्यसैगरी श्रवण मुकारुङको गीत आभासको संगीत र स्वरुपराज आचार्यको गायन रहेको छ।
त्यस्तै एउटै विषयब बस्तु रहेको फिल्म हो 'हामी शरणार्थी'। शरणार्थीको जीवनकथामा आधारित फिल्ममा शिल्पा पोखरेल मुख्य अभिनेत्रीको रुपमा देखिएकी छिन्। जहाँ उनी दुई सन्तानकी आमा र एक बोल्ड पात्रको रुपमा देखिएकी छिन्। फिल्ममा शिल्पासँगै जीवन भट्टराई, प्रतिमा रसाईली, नयन घिमिरे, विक्रम श्रेष्ठ, प्रमिला उप्रेती, बालदीप राई र दिलीप योङहाङलगायतको अभिनय रहेको छ। केरुङ फिल्मस्को प्रस्तुती रहेको फिल्ममा भुटानी शरणार्थीले पाएको दुःखको कथा समेटिएको छ। फिल्ममा हिमाल केसीको द्वन्द, उत्तमजंग लिम्बुको संगीत, कमल राईको नृत्य, बैजु सिंहको पटकथा र संवाद तथा सौरभ लामाको छायांकन छ।
शुक्रबार नै जयकिशन बस्नेतको लेखन, निर्माण र निर्देशन एवं अभिनय रहेकफ 'धुम २' पनि सार्वजनिक हुँदैछ। फिल्ममा जय किशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, संजोग कोइराला, महिमा सिलवाल, शोभित बस्नेत लगायतका कलाकारले अभिनय रहेको छ। चलचित्रमा एनबि महर्जनको द्धन्द्ध, जिवन श्रेष्ठको छायांकन तथा तारा थापा किम्भेको सम्पादन रहेको छ।
अर्को फिल्म हो 'स्काउट'। फिल्म स्काउटमा गरिमा पन्त, नवराज श्रेष्ठ, कुशल थापा, मधुकुमार श्रेष्ठ, संजय श्रेष्ठ, रक्षा श्रेष्ठको अभिनय रहेको छ। मधुकुमार श्रेष्ठको प्रस्तुतिमा केदार प्रसाद पराजुली, कृष्ण लामिछाने र इश्वर तिवारीले निर्माण गरेको फिल्मलाई गोविन्द गौतमले निर्देशन गरेका हुन्।
यी चार फिल्म मध्य 'देश खोज्दै जाँदा'ले मात्र मल्टिप्लेक्समा शो पाउने निश्चित छ। त्यसैले सिंगल स्क्रिनमा भने तीन फिल्मको स्वस्थ प्रतिस्पर्धा हुने देखिन्छ। बलिउड र हलिउड तर्फ भने यो साता कुनै पनि नयाँ फिल्म नेपाल रिलिज भएन। गत साता नै प्रदर्शनमा आएको बलिउड फिल्म ट्वाइलेट एक प्रेम कथा र हलिउड फिल्म एनाबेल: क्रियशनले यो हप्ता पनि शो पाएका छन्।