PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

सप्तरीमा बाढीका कारण सात हजार कुपोषित, ६ सयको अवस्था गम्भीर



रासस

सप्तरीमा बाढीका कारण सात हजार कुपोषित, ६ सयको अवस्था गम्भीर

  • सुरेश झा 
सप्तरी :  हालै आएको भीषण बाढी र पहिरोका कारण खाद्यान्न र पौष्टिक आहारको कमी हुँदा सप्तरी जिल्लामा सात हजार २०० भन्दा बढी व्यक्ति कुपोषणको शिकार भएका छन्। 

बाढीले घरमा रहेको अन्नपात बगाएको, घाँसपातको कमीले गाई–भैँसीले दूध दिनमा कमी गरेको र आर्थिक अभाव भएका कारण जिल्लाका ६१२ जना गम्भीर कुपोषणको शिकार भएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। सर्वेक्षणअनुसार सप्तरीका ५८ गाविसमा कुपोषण अत्यधिक देखिएको बताइएको छ। 

सप्तरीका दिघवा, लोनिया, तिलाठी, सकरपुरा, विषहरिया, डुमरी, मैनाकडेरी, देउरी भरुवा, हरिपुर, मुसहरनिया, फर्सेठ, कोइलाडी, बसाइन, बर्दाही, बनैनियालगायतका बाढीपीडित ग्रामीण क्षेत्रमा कुपोषितको संख्या बढी पाइएको छ। खासगरी गर्भवती महिला, बालबालिका, वृद्धवृद्धामा स्वच्छ खानेपानी, पौष्टिक आहारबाट वञ्चित हुँदा समस्या देखिएको हो। 

बाढीपीडितका लागि सरकारी तथा गैरसरकारीतर्फबाट आउने राहतमा पौष्टिक तत्व नहुने र जीवन धान्ने खालको मात्र राहत आउने गरेको बताइएको छ। 

सप्तरीका बाढीपीडितको खाद्य सुरक्षासम्बन्धी जिल्ला कृषि विकास कार्यालयमा आयोजित खाद्य सुरक्षा कार्यदल बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालयका पदाधिकारीले कुपोषणको सम्बन्धमा जानकारी गराएका थिए। 

बैठकमा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भगिरथ यादवले बाढीपहिरोले सप्तरीमा करिब १८ करोड रुपैयाँ बराबरको धानबाली, माछा र तरकारी नष्ट भएको जानकारी दिए।

उनका अनुसार सप्तरीको कुल खेतीयोग्य जमिनमध्ये १३ हजार हेक्टर जमिन क्षतिग्रस्त भएको, अधिकांश बालुवाले पुरिएको, खेत बगरमा परिणत भएको र नहरहरु क्षतिग्रस्त भएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell