
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पत्रकारहरुले नै लोकतन्त्रलाई जोगाउने भन्दै लोकतन्त्रको पहरेदार भएर काम गर्न आग्रह गरेका छन्।
नेपाल पत्रकार महासंघको नवनिर्वाचित नेतृत्वलाई बधाइ दिन आफ्नै निवासमा कार्यक्रम आयोजना गरेका महामन्त्री कोइरालाले प्रेस स्वतन्त्रता र लोकतन्त्र एकअर्काका पर्याय भएको बताए।
‘व्यक्ति स्वतन्त्र बन्न सकेन भने अन्य सबै स्वतन्त्रताको कुनै मिनिङ हुँदैन,’ कोइरालाले भने, ‘त्यो व्यक्तिगत स्वतन्त्रताको रक्षा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट व्यक्तिले उपभोग गर्ने हो।’
उनले पत्रकारिता पेशा नै स्वतन्त्रताको पहरेदार भएको भन्दै त्यही कारण प्रेसलाई राज्यको चौथो अंग भनिएको बताए।
महामन्त्री कोइरालाले पत्रकार महासंघले लोकतन्त्र र प्रेस स्वतन्त्रता रक्षामा महत्वपूर्ण हुने भन्दै त्यसको भूमिकामा नचुक्न महासंघ नेतृत्वलाई सचेत गराए।
कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले लोकतन्त्र विना प्रेस स्वतन्त्रताको कल्पना गर्न नसकिने भन्दै लोकतन्त्रप्रतिको प्रतिवबद्धता ढुक्क हुन आग्रह गरे।
‘राजाको निरंकुश शासनकालमा लोकतन्त्रको आन्दोलन छेड्दा नेपाली कांग्रेस र पत्रकार महासंघ नैं अगुवा भूमिकामा थिए, र सँगै आन्दोलन गरिएको हो,’ अध्यक्ष आचार्यले भने, ‘त्यो भूमिकाबाट महासंघ नेतृत्व चुक्ने छैन।’
उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकै लागि पत्रकार महासंघको स्थापना भएको भन्दै त्यो भूमिकामा कोही पनि नचुक्ने बताए।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पत्रकार महासंघमा निर्वाचनका क्रममा कुनै राजनीतिक निकटता वा अन्य आधारमा एलाइन्स बनेपनि त्यसको मुख्य चरित्र साझा हुने बताए।
‘पत्रकार महासंघ साझा चरित्र कायम गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि लाग्ने संस्था हो,’ अध्यक्ष सिग्देलले भने, ‘अघिल्ला कार्यकालमा पत्रकार महासंघ साझा चरित्र छाडेर कुनै पार्टीको भातृ संगठनका रुपमा काम गर्दा केही समस्या आएकै हुन्’ उनले अवको नेतृत्वले त्यस्तो कुनै पार्टीप्रति निकटता नदेखाउने र साझा चरित्र जोगाउनेमा आफू ढुक्क रहेको बताए।
नेपाल प्रेस युनियनको प्रचार समितिले आयोजना गरेको कार्यक्रममा कांग्रेस कोषाध्यक्ष सितादेवी यादव डाक्टर शेखर कोइराला, सुजाता कोइराला, डाक्टर प्रकाशरण महत कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीसहितकानेताहरु तथा राज्यमन्त्री तथा सांसद्हरु सहभागी थिए।