काठमाडौं: चलचित्र निर्माता संघले बाढीपीडितलाई राहत बाँडेको छ। संघले सर्लाहीका ६० भन्दा बढी बाढीपीडितलाई राहत बाँडेको हो। संघका उपाध्यक्ष माधव वाग्लेको नेतृत्वमा गएको टोलीले सर्लाहीका हरिवन, अत्रौली, रञ्जितपुर, जरुवा पानी, गोल्हा, लालबन्दी आादि स्थानका पीडितलाई खाद्यान्न तथा अन्य सामाग्री वितरण गरेको थियो।
उपाध्यक्ष वाग्लेले संघका सदस्यबाट उठेको २ लाख २० हजारको खाद्य सामाग्रीसँगै ६० थान कम्बल, १ सय १० थान त्रिपाल, ५ थान टेन्ट र तयारी कपडा वितरण गरेको जानकारी गराए। पीडितका लागि स्वेताश्री फाउन्डेसनले १ लाख ५ हजार प्रदान गरेको थियो भने गोपीकृष्ण टिभीले २५ हजार सहयोग गरेको बताइएको छ। संघका सदस्यले गच्छेअनुसार ११ हजारदेखि ५ हजारसम्म सहयोग गरेका थिए। संघले सर्लाहीको द्वन्द्वले पीडित बालबालिका रहेको ‘चेतना सन्देश’लाई ११ हजार नगद सहयोग गरेको थियो।
उपाध्यक्ष वाग्लले संघले सहयोगलाई निरन्तरता दिने बताए ‘हामीले गोजीबाट निकालेर तत्कालका लागि सक्ने सहयोग गर्यौ। यत्तिकैमा चुप लागेर बस्दैनौं। सहयोग जुटाएर फेरि वितरणमा जान्छौं,’ वाग्लेले भने। अघिल्लो हप्ता आएको बाढीले विस्थापितको सहयोगका लागि कलाकारहरू व्यक्तिगत तथा संस्थागत रूपमा सक्रिय रहेका छन् यसअघि कलाकार संघले पनि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नेतृत्वमा सप्तरीका बाढी पीडितलाई राहत वितरण गरेको थियो।