काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)ले जितेन्द्र सोनलको संयोजकत्वमा पाँच सदस्यीय घोषणापत्र बनाउन समिति गठन गरेको छ।
संविधान संशोधनलाई सबैभन्दा ठूलो मुद्दा बनाएर लामो समयदेखि आन्दोलनमा सक्रिय राजपाले यसअघि सम्पन्न स्थानीय तहका दुई चरणका निर्वाचन बहिस्कार गरेको थियो। संविधान संशोधनविना निर्वाचनमा जानै नसक्ने अड्डी कसेको राजपालाई मनाउन सरकारले संविधान संशोधन प्रकृयालाई संसदमा अघि बढाए पनि दुई तिहाई मत नजुट्दा माग सम्बोधन हुन सकेन। यद्यपि बहुमत संविधान संशोधनको पक्षमा देखिएकाले नैतिक बल पाएको राजपा स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा होमिने अवस्था बन्यो।
सम्पन्न भएका दुई चरणका स्थानीय तह निर्वाचनमा बाहिरै रहेको राजपाले असोजमा हुने २ नम्बर प्रदेशको निर्वाचनमा आफूलाई सक्रिय बनाउन लागेको हो। चुनावमा होमिन घोषणापत्र तयार गर्न जुटेको पार्टीले समितिलाई ५ दिनको म्याद दिएको छ।
समितिमा मनिष कुमार सुमन, केशव झा, हरेन्द्र यादव र कौशलेन्द्र मिश्र सदस्य छन्।
