तीज लागेको थियो कनिकालाई। उ रातो पुलओभर टप्समा सजिएकी थिइ। मामुले बिहान ‘आज तीजको दिन। सारी ट्राइ गर्छ्यौ छोरी?’ भन्दा उ एक्साइटेड भएकी थिइ। उसलाई सारी लगाएर हिँड्ने मन र रहर दुवै थियो। एक मन त सारी लगाएर अफिस जान जोशिएकी थिइ। तर, प्राक्टिस नगरी सारी लगाएर हिँड्ने कन्फिडेन्स पटक्कै थिएन उसमा। मामुसँग हिँडेर नसिकी सारी लगाएर हिँड्न जानिँदैन भन्नेमा कन्भिन्स थिइ उ। यही कारणले सारी लाएर अफिस जानु उसलाई ठीक लागेन। सारी लगाइसके पछि स्कुटी त के चढ्नु। त्योभन्दा जीर्ण अवस्था के होला? कान्तिपुरमा राम्ररी लाउन जानेर, सारी लगाएर हिँड्ने महिलाको अभाव छ भन्ने लाग्दथ्यो कनिकालाई।
समाचार र विचारका पाना उल्ट्याएर बसेकी कनिका समाचारको विरुप देखेर दिक्क भएकी थिइ। उसलाई सुदिप्तीले असाइनमेन्ट दिएकी थिइ, ‘पशुपतिनाथ परिसरबाट तीजको रोचक ‘आँखोदेखा’ परिदृश्य तयार पार्ने। कनिकालाई यो असाइनमेन्ट मन परेको थियो। आजकै मुख्य समाचारमा सात जनाको सडक दुर्घटनामा मृत्यु, डुवानमा परेर पन्ध्र परिवार वेपत्ता, बलात्कारपछि हत्या, लागू पदार्थ सेवनकर्ताहरू गिरफ्तार, घूस लिँदालिँदै कर्मचारी पक्राउ, मन्दिर प्रवेश गरेको आरोपमा दलितको कुटपीट : कुनै पनि समाचार यस्ता थिएनन् जसले एउटा स्वस्थ समाजको झलक प्रस्तुत गर्न सकुन्। उसको विचारमा नेपाली सोसाइटी एकदमै एकोहोरिएको थियो। विविध संस्कृति र कलाकर्मले सिंगारिएको समाज एकोहोरो हुनु डरलाग्दो विषय थियो। तर, समाजका जिम्मेवार भनिने वर्गसँग कुनै उत्तर थिएन। न त अपेक्षा नै थियो। यस्तो परिस्थितिको रिपोर्टिङ कसरी गर्नु?
त्यसैबेला भारतको राजधानी दिल्लीबाट खबर आयो, भारत भ्रमणमा आएका नेपालका प्रधानमन्त्रीसँग भारतको प्रधानमन्त्रीको ‘अचानक’ भेट। बिस्तार सहित समाचारमा बताइएको थियो- भारतीय प्रधानमन्त्रीले अचानक नेपालका प्रधानमन्त्रीलाई विशेष वार्ताका लागि आफ्नो आवासमा बोलाउनु भयो। आधा घण्टासम्म दुवै प्रधानमन्त्रीले एक्ला–एक्लै वार्ता गरे। समाचारलाई जसप्रकार प्रस्तुत गरियो त्यो अप्रोच ठीक लागेन कनिकालाई। दुई देशका नेताले गोप्य वार्ता गरे त गरे। मोदीसँग गोप्य वार्ता गरे भन्दैमा देउवा कसरी खराब भए? भोलि अमेरिका जालान् र राष्ट्रपति ट्रम्पसँग वार्ता गर्लान्। त्यतिबेला उनलाई के भन्ने? एउटा अनलाइनले पानी पिएको घटनालाई निकै भद्दा ढङ्गले प्रस्तुत गर्दै लेख्यो, सुषमाले दिइन, मोदीले हाले, देउवाले पिए।
कनिकाको रातो पुलओभर टप्सको तारीफ अहिलेसम्म कसैले गरेको थिएन अफिसमा। कनिकाको बानी थियो, कसैले राम्रो भने पनि इरिटेट हुने र नराम्रो भने पनि इरिटेट हुने। उसको यो इरिटेशनको कारण कान्तिपुरको फेशन स्ट्रिटमा नयाँ नयाँ डिजाइनको प्रवेश नहुनु नै थियो। प्रवल गुरुङले न्यूयोर्कको पूरै फेशन स्ट्रीट आफ्नो कव्जामा लिइसक्दा पनि नेपाली ठिटीहरू सन् १९६२ कै अन्दाजको फेशनमा बाँच्नुपर्ने परिस्थिति कनिकालाई मनपर्ने कुरै थिएन। सोच्दा सोच्दै कनिकालाई प्रवल गुरुङको वन टू वन इन्टरभ्यू लिन मन लाग्यो। उसका लागि न्यूयोर्क जानु र दुई चार हजार डलर खर्च गर्नु ठूलो कुरा थिएन। तर, यसका लागि सुदिप्तीको अनुमति चाहिन्थ्यो।
उ लेख्दालेख्दैको तीज फिचर सेभ गरेर सुदिप्तीको कोठामा पुगी र बिना भूमिका बोली, ‘तैँले प्रवल गुरुङलाई चिनेकी छेस्?’
उसको प्रश्नले सुदिप्ती पहिले त अक्क न बक्क परी। त्यसपछि बोली, ‘अफकोर्स, आइ नो हिम।’
कनिकाले भनी, ‘मलाई उसको इन्टरभ्यू गर्न मन लाग्यो। म अमेरिका जान्छु। नीड योर पर्मिसन।’
सुदिप्तीले हुन्न भनिन्। उसले भनी, ‘हुन्छ, जा। टिकट तँ काट। अरु खर्च कम्पनीलाई भर्न लगाउँला।’
कनिकाका लागि हुनु भै गो। उ मनमनै दङ्ग परी। बाबालाई फोन गरेर न्यूयोर्क टिकटको कुरा गरी। बाबा पनि खुशी भए। उनले आफनो ट्राभल एजेन्टलाई फोन गरेर टिकटको कुरा गरे। कनिकासँग सेड्युल मागे र ट्राभल एजेन्टलाई पठाइ दिए। एभ्रीथिङ डन।
खुशीको मूडमा तीज फिचर तयार गरिरहेकी कनिकाको क्याविनमा आइ सुदिप्ती र कनिकाको ड्रेस सेन्सको तारिफ गर्न थाली। सुदिप्ती भन्दै थिइ, ‘तैँले रातो पुलओभर टप्स लगाएर तीजको पनि मर्यादा राखिस्, आफनो शोख पनि पूरा गरिस्। तँ धन्य होस कनि। अब प्रवल गुरुङ भेट्ने खुशीमा सेलिब्रेट त गर्नै पर्यो। तीज फिचर अपलोड गरेर तल इम्पायर लाउन्जमा आइज। मैले तेरो नाममा टेवल बुक गरिसकेकी छु।’
कनिका केही बोलिन, हाँसी मात्र। त्यसपछि भारतको लोकप्रिय अनलाइन क्याच न्यूजमा उसको आँखा पुग्यो। उसले देखी, साथीहरूले त तीजको फोटो अपलोड गरिसकेछन्। त्यसपछि उ हतारिइ र फिचर सिध्याइ। इम्पायर लाउन्जमा सुदिप्ती र निरन उसको प्रतीक्षामा थिए।
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा हरेक हप्ता पहिलोपोस्टमा)