
बेरुत : सिरियाको राका प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) ले गरेको हमलामा कम्तीमा ३४ सिरियाली सैनिक र सरकार आवद्ध लडाकूको मृत्यु भएको छ।
राका प्रान्तमा बिहीबार भएको भीषण भिडन्तका क्रममा सरकारी बलले नियन्त्रणमा लिईसकेका क्षेत्रहरु पुनःजिहादीहरुले कब्जामा लिएका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ।
यसै महिनाको सुरुमा नै सरकारी सैनिक र सरकारसँग आवद्ध लडाकू मदान सहरको बाहिरी इलाकामा पुगेका थिए। राका प्रान्तको पूर्वीतर्फ पर्ने यो सहर आइएसको बलियो प्रभाव रहेको थियो।
आइएस आतङ्ककारी समूहले मदान सहरको पश्चिममा पर्ने बाहिरी इलाकाको ३० किलोमिटर परसम्म सुरक्षा बललाई लखेटेका थिए।
रसियाको समर्थनमा आइएसविरुद्ध कारबाही चलाउँदै आएका सिरियाली सुरक्षाबलले प्रान्तीय राजधानी राका सहरमा भने छुट्टै लडाई जारी राखेका छन्।
जिहादी समूहको बलियो प्रभाव रहेको सिरियाली, सहरहरुमध्ये एक यस सहरबाट आइएसलाई निकाल्नका लागि सिरियन डेमोक्रयाटीक फोर्सेस (एसडिएफ) र अमेरिकाआवद्ध कुर्दिस र अरब लडाकूहरुको प्रयास जारी रहेको छ।
गत जुनमा सो सहरमा प्रवेश गरेका एसडिएफले जिहादीविरुद्ध जारी राखेको केही महिनाको कारबाहीपछि राका सहर ६० प्रतिशत कब्जामा लिइसकेका थिए।
सिरियामा सन् २०११ को मार्च महिनाबाट सरकारी विरोधी आन्दोलन सुरु भएको थियो।
सोही आन्दोलन कारक हुदै अहिलेसम्म जारी द्वन्द्वमा परी तीन लाख ३० हजारभन्दा बढीको मृत्यु भएको छ।
त्यसैगरी आन्दोलनमा लाखौं घाइते भएका छन् भने, लाखौ स्वदेशमा र छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य रहेका छन्। रासस/एएफपी