विराटनगरः ‘खै कुन हो कुन, के चिन्नु यहाँबाट ?’
दीक्षित हुन हातमा राइफल बोकेर पङ्क्तिबद्ध उभिएका ७ सय ७१ जवानका बीचमा आफ्नो कान्छो छोरो ठम्याउन २ सय मिटर परबाट घाँटी तानी–तानी खोज्दै थिए वर्ष ५४ का कालबहादुर राई र ५३ की टीकामाया।
‘सबै उस्तै देखिन्छन्– लुगा उस्तै, जुत्ता उस्तै टोपी उस्तै’, निकै बेर हेरेपछि पनि ठम्याइनन् टीकामायाले, ‘भरे भेट हुन्छ भनेकै छन्, कति तन्काउनु घाँटी ?’
धनकुटा महाभाराका राई दम्पती आफ्नै परम्परागत ग्रामीण पहिरनमा शुक्रबार आएका थिए, सभ्य र आधुनिक भनाउँदो विराटनगर सहरमा।
प्रहरी जवानको दीक्षान्त समारोहमा अभिभावकलाई समेत निम्ता गर्ने केही वर्षयताको चलनअनुरूप उनीहरूलाई पनि निम्ता गरिएको थियो।
स्थान– पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी।
कान्छो छोरो कमलले शुक्रबार दज्र्यानी चिह्न पाए।
‘राजाको सिँदुर लायो छोराले’, लहरै उभिएका ७ सय ७१ जवानतिर हेरेर कालबहादुरले गहभरि आँसु बनाए, ‘ठूलेको जस्तै दुःख पाउँदैन कान्छाले बुझिस्। राजाको सिँदुर लाएपछि दुःख हुँदैन।’
के थियो ठूलेको दुःख ?
जेठो शुकबहादुर ५ वर्ष सउदी बसेर आएपछि वैदेशिक रोजगारमै मलेसिया गएका थिए। मलेसियाबाट घर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए। त्यही दिन धरान जाने रात्रि बस चढे।
पथलैयाको जङ्गलमा पिसाब गर्न उत्रिएका बेला रात्री बस शुकबहादुरलाई छाडेर हिँड्यो। घना कालो, निर्जन र डरलाग्दो स्थानमा छाडिएका ठूले एकछिन त दौडिए तर उनको गतिले बसलाई कसरी पक्रन सक्थ्यो र !
यसपछि जुन गाडी बाटामा आउँथ्यो त्यसैलाई हात उठाएर रोक्न खोज्थे शुकबहादुर। जङ्गलै– जङ्गल मध्यरातमा हुइँकिएका गाडीले ठूलेको पीडा बुझेनन्।
जङ्गलभित्रै अर्को दशा लाग्यो। त्यही रात लुटेराले शुकबहादुरको गोजीमा भएको सबै लगे, निर्मम ढङ्गले कुटपिट गरे, बेहोश बनाएर सडक किनारमा छाडिदिए।
‘ठुले घर आइपुग्दा हाडछाला मात्र बाँकी थियो’, टीकामायाले भनिन्, ‘उसलाई खोज्न भनेर बाउ ऋण गरीरी कहाँ पुगेनन् । सडकमा छुटेको १८ दिनको साँझ ऊ घर आइपुग्यो । दुःख त कति पायो कति, भनेरै साध्य छैन । बाटामा मागेर खाएछ, बेखर्ची भएँ भनेर भिख मागेछ। बल्लबल्ल आइपुग्यो।’
उही शुकबहादुर अहिले गाउँको बिजुवा (राई समुदायको धामी) भएको छ। गाउँमा ढ्याङ्ग्रो ठोक्छ, जोखाना हेर्छ।
बाबु कालबहादुरले भने, ‘बिजुवा भएपछि छुट्टेर बसेको छ। कुनै गुरु होइनन् उसका। जङ्गलका देउता जिउमा आएपछि बिजुवा भयो।’
उनै शुकबहादुर घर फर्कंदा उनको शरीर, मैला कपडा र दयनीय हविगत देखेपछि कान्छा भाइ कमलले अठोट गरेका थिए– जे परोस् विदेश जान्न। एक, दुई, तीन जान्न।
एसएलसी पास गरेपछि कमल कलेज पढ्न धनकुटा गए। घरको आर्थिक अवस्थाले सदरमुकाममा डेरा गरेर पढ्न गाह्रो भइरहेको थियो।
पढ्दापढ्दै विराटनगरमा प्रहरी जवानमा भर्ना खुलेको थाहा पाए। घरमा सबैले हुन्छ भनेपछि आवेदन दिए।
‘कसैको सोर्स लाउनु परेन’, बाबु कालबहादुरको भनाइ थियो, ‘आफ्नै खुबीले खायो कान्छाले ।’
जेठो बिजुवा, कान्छो प्रहरी अनि माइलो कहाँ त ?
आमा टीकामायाले जवाफ फर्काइन्, ‘माइलो त विदेशै छ, कतारतिर। दुई छोरी साथमा छन् । बुढाले खेत जोतिहाल्छन्, दुःखजिलो गरेर प्राण धानेका छौँ।’