काठमाडौं: नालापानी युद्ध विशेष फिल्म निर्माण घोषणा भएको छ। फिल्म 'नालापानी' बन्ने बारे निर्माण युनिटले शुक्रबार औपचारिक कार्यक्रम आयोजना गरी बताएको हो। रामराज कुँवरको 'वीर बलभद्र कुँवर' नामक पुस्तकमा समावेश कथामाथि फिल्म बन्ने भएको हो।
५ वर्षको अध्ययनपछि फिल्म निर्माण निश्चित भएको निर्माता एवं निर्देशक रिमेश अधिकारीले बताए। 'वीर नेपाली सेना र नेपालीको बहादुरीको २०३ वर्ष पुरानो इतिहासलाई पर्दामा उतार्ने कोसिस गरेका छौं। यसले आज र भोलिको युगलाई हाम्रो इतिहासबारे बुझाउँछ भन्ने विश्वास छ।' फिल्म निर्माण मनोज शाक्य र रिमेश अधिकारीले संयुक्त रुपमा गर्न लागेका हुन्।
नालापानी घोषणा कार्यक्रममा पूर्व सहायक रथी इतिहासविद् डाक्टर प्रेमसिंह बस्न्यातले फिल्म नालापानीले इतिहास बचाउने आशा व्यक्त गरे। भने, 'यो फिल्म यथार्थमा आधारित रहोस् र यस फिल्ममा गोरखाको बिसे नगर्ची बनारसबाट आएर नेपालको लागि लड्ने मुसलमानहरुको नाम समेटोस्। पात्र समेटोस्।'
पदमा कुमारी फिल्मसको ब्यानरमा बन्ने फिल्म नालापानीमा आशिष रेग्मीको पटकथा तथा संवाद रहेको छ। त्यस्तै फिल्मको कला निर्देशन कुशोर नेपालले गर्दैछन्। फिल्म घोषणा कार्यक्रममा वीर बलभद्र कुँवर प्रतिष्ठानका अध्यक्ष धनबहादुर कुँवरले भने,'नालापानी युद्धले नेपालले विश्वमा चिनायो। किनकि २४ वर्षीय ठिटोको नेतृत्वमा बालबच्चा र बुढाबुढी लिएर कुनै युद्ध भएको थिएन।'
कलाकारहरु अर्जुनजंग शाही, नवल खड्का, मनोज शाक्य, विशाल श्रेष्ठ, दीपेन्द्र सिंह दर्नाल, विकेस श्रेष्ठ, विशाल पहाडी, बिष्णु मोक्तान, गीता अधिकारी, सुन्दर श्रेष्ठ, ईशान बिजु श्रेष्ठ, प्रनिश शाक्य, कृष्ण आचार्य, तुलसा थापाको अभिनय रहनेछ।
आवश्यक खोज, अनुसन्धान र नेपाली सेनासँगको समन्वेनका लागि समय लाग्ने भएकाले फिल्म युनिट ६ महिनापछि मात्र छायांकनका लागि फ्लोरमा उत्रने निर्माता शाक्यले जनाए।
