
काठमाडौँ : नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ।
दल दर्ताका लागि चाहिने आवश्यक कागजातसहित पार्टीका उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा गएको टोलीले आयोगमा पुगेर दल दर्ता गराएको हो।
राजनीतिक दलले हरेक निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने कानूनी व्यवस्था छ। निर्वाचन आयोगले दल दर्ताका लागि भदौ ११ गतेसम्मको समयसीमा दिएको छ।
हालसम्म आयोगमा ४४ राजनीतिक दलले दल दर्ता गराइसकेको आयोगले जनाएको छ। त्यसक्रममा उपाध्यक्ष गौतमको टोलीले प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँग प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तह र आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन विषयमा पनि छलफल गरेको छ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले निर्वाचनका लागि आवश्यक विधेयक पारित गर्न पूर्णरुपमा सहयोग गर्न एमाले तयार रहेको बताए।
उनले सरकारलाई छिटोभन्दा छिटो निर्वाचनसम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्न सुझाव दिँदै भने,‘नेकपा एमाले आगामी असोज २ र मंसिरमा हुने दुवै निर्वाचनका लागि तयारी रुपमा छ, पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रीत हुने निर्णय भइसकेको छ।’
उनले एमालेलाई कसैले पनि घेराबन्दी गर्न नसक्ने र जनताबाट तिरस्कृत भएकाहरुले मात्र त्यसो गर्ने बताए। रासस