
काठमाडौं : ललितपुरमा भइरहेको साफ यू-१५ च्याम्पियनसिपमा लागि दुई चिरपरिचित प्रतिद्वन्दी नेपाल यू-१५ र भारत यू-१५ भिड्ने भएका छन्। शुक्रबार भएको सेमिफाइनलमा नेपालले बंगलादेश तथा भारतले भुटानलाई हराउदै उपाधि भिडन्त पक्का गरे।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएकव खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई ४-२ ले हरायो। यता सशस्त्र प्रहरी बलको हलचोक मैदान भारतले भुटानलाई ३-० ले पारजित गर्यो।
समूह चरणको खेलमा नेपाललाई हराएपछि भारतिय यू-१५ फुटबल टिमका प्रशिक्षक बिलियानो फर्नान्डेजले फाइनलमा पनि नेपालसँगै खेल्न चाहेको बताएका थिए।
उको चाहना अनुरुप नै नेपालले बंगलादेशलाई हराउँदा भारतले पनि भुटानलाई पराजित गरिसकेको छ। अब आइतबार एन्फा कम्प्लेक्समै नेपाल र भारतबीच फाइनल खेल हुनेछ।
यसअघि लगातार तीन संस्करण यू-१६ लेभलमा भएपनि यस पटकबाट साफ यू-१५ च्याम्पियनसिप आयोजना गरिएको हो।
यसअघि तीन संस्करणमा नेपाल भारतसँग पराजित भएको थियो।
यसपटक पनि समूह चरणमा नेपाल भारतसँग हारिसकेको छ। अब फाइनलमा भारत विरुद्ध उक्त हारको समेत बदला लिने अवसर नेपालसँग छ।
फाइनल पुगेपछि नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले भारतलाई हराउँदै इतिहास रच्ने अवसर आएको प्रतिक्रिया दिएका छन्।