PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

बाढीले बगाएर भारत पुगेको थप एक गैँडा चितवनमा ल्याइयो



रासस

बाढीले बगाएर भारत पुगेको थप एक गैँडा चितवनमा ल्याइयो
फाइल फोटो

चितवन : अविरल वर्षापछिको बाढीले बगाएर भारतको वाल्मीकि टाइगर रिजर्भमा पुगेको एउटा गैँडालाई उद्धार गरी यहाँ ल्याइएको छ।

शुक्रबार नियन्त्रणमा लिइएको सो पोथी वयस्क गैँडालाई आज बिहान सौराहा ल्याइपुर्‍याइएको हो।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार आज बिहान करिब ७:३० बजे सो गैँडालाई सौराहाको हात्तीसार नजिकै जनकौली मध्यवर्ती सामुदायिक वनमा छाडिएको छ। यससँगै बाढीले भारत पुर्‍याएका पाँच गैँडाको उद्धार गरी फिर्ता ल्याइएको छ।

वाल्मीकि टाइगर रिजर्भमा अझै एक गैँडा बाढीले पुर्‍याएको छ। सो गैँडा ल्याउने प्रयास भइरहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए।

गैँडाको उद्धारका लागि गत सातादेखि नै सोही क्षेत्रमा रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अर्यालका अनुसार अब बाँकी रहेको अर्को गैँडा नियन्त्रणको प्रयास आज बिहानदेखि शुरु भएको छ। गैँडालाई डार्ट (बन्दुकबाट लठ्याउने सुई लगाउने काम) गरेर ल्याइन्छ जसका लागि प्राविधिकसहित नेपाली ४० र वाल्मीकि टाइगर रिजर्भका २०० कर्मचारी परिचालन गरिएको छ।

यसअघि भारतबाट चार गैँडाको उद्धार गरी निकुञ्ज ल्याइएको थियो। भारतबाट ल्याइएका गैँडामध्ये दुई पोथी माउ तथा एक भाले र एक पोथी बच्चा थिए। बाढीले बगाएर नेपालकै विभिन्न क्षेत्रमा तीन गैँडा पुर्‍याएको छ। दुई गैँडा मृतावस्थामा भेटिएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell