PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

विराटनगर महानगरपालिकामा फोहरैफोहरः मेयरले दिए ठेकेदारलाई चेतावनी



अनन्तराज न्यौपाने

विराटनगर महानगरपालिकामा फोहरैफोहरः मेयरले दिए ठेकेदारलाई चेतावनी
तस्बिरः कौशल निरौलाको फेसबुकबाट

विराटनगरः निर्वाचित भएको एक सय दिनभित्र विराटनगर महानगरपालिकालाई धुवाँ, धुलो र फोहरबाट मुक्त गराउने घोषणा गरेका मेयर भीम पराजुली फोहरका ठेकेदारसित असन्तुष्ट देखिएका छन्।

प्रेस युनियन निकट पत्रकारसित एक हप्ता अघिको भेटमा मेयर पराजुलीले महानगरपालिकामा फोहर व्यवस्थापनको ठेक्का पाएको वेस्ट म्यानेजमेन्ट प्रालिलाई काम सुधार्ने चेतावनी दिएको जानकारी दिएका थिए।

एक हप्तापछि शुक्रबार बिहान उनी आफैँ मोटरसाइकल चढेर अनुगमनमा निस्किए । मोटरसाइकल चढेर अनुगमन गरेका मेयरले महानगरमा फोहरको समस्या देख्न पाएका छन्।

तत्कालीन उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीको ‘एकल हठ र स्वार्थ’मा काठमाडौंको वेस्ट म्यानेजमेन्ट ग्रुप प्रालिले विराटनगरको फोहर व्यवस्थापनको ठेक्का ५ वर्षका लागि पाएको थियो। 

महानगरपालिकाबाट वार्षिक १ करोड ३६ लाख ८४ हजार रुपैयाँ पाउने गरी २०७३ वैशाख २ मा गरिएको सम्झौताका अधिकांश बुँदालाई वेस्ट म्यानेजमेन्टले अटेर गरेको छ।

सम्झौताअनुसार ठेकेदार पक्षले सङ्कलित फोहरलाई छोपेर सुरक्षित ढङ्गले ढुवानी गर्नुपर्ने र अन्तिम विसर्जन गर्न अस्थायी ल्यान्डफिल्ड साइटको व्यवस्था गर्नुपर्नेछ। 

त्यस्तै, अस्थायी ल्यान्डफिल्ड साइट महानगरपालिकाभन्दा ७ किलोमिटर पर र वस्तीभन्दा १ सय मिटर टाढा हुनुपर्नेछ। सम्झौतालाई ठेकेदार पक्षले पालन गरेको छैन। 

ठेकेदार पक्षले महानगरपालिकाभित्रै केसलिया खोला किनारलाई फोहर फाल्न प्रयोगमा ल्याएको छ। 

यस्तो साइटमा छाई, चुना, ब्लिचिङ पाउडर हाल्ने तथा माटोले पुर्ने काम गर्नुपर्ने सम्झौता पनि पालन गरिएको छैन।

सम्झौतामा नदी, नाला र पोखरीमा फोहर विसर्जन गर्न नपाउने भनिए पनि ठेकेदार पक्षले खोला किनारलाई प्रयोग गरिरहेको छ।

वर्षको २ पटक महानगरको नाला सफा गर्नुपर्ने सम्झौतालाई पनि ठेकेदार पक्षले अटेर गरेको छ। यसका कारण नाला प्लास्टिकलगायतका वस्तुले भरिएका छन्। 

ठेकेदार पक्षले सम्झौताविपरीत महानगरपालिकाका २ वटा डोजर र ३ वटा ट्रिपरको प्रयोग गरिरहेको छ।

‘हामी अझै एक हप्ता हेर्छौं’, मेयर पराजुलीले भने, ‘यसअघि पनि हामीले २ पटक मौखिक चेतावनी दिएका छौँ। यही रवैया हो भने हामीले साझेदारको विकल्प सोच्न बाध्य हुनुपर्नेछ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell