
भेनेजुयलाः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सैनिक कारबाहीको चेतावनीपछि भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो सेनालाई इमान्दारसाथ अघि बढ्न निर्देशन दिएका छन्।
मादुरोले प्रमुख सैनिक जनरल भ्लादिमिर पाड्रिनो तथा उच्च सैनिक नेतृत्व, रक्षा मन्त्री, जनरल रेमेजियो सेवालस, रणनैतिक कमाण्डरलगायतका सुरक्षा क्षेत्रका अधिकारीलाई भेला गरेर सैनिक अभ्यास सुरु हुन दुई दिनअघि इमान्दार र अडिग रहन निर्देशन दिएका हुन्।
मादुरोले भने,‘खासगरी सेनामा रहेका युवा, प्रष्ट हुनुपर्छ कि हाम्रो सेना मातृभूमिका लागि सङ्घर्ष गर्नुपर्छ। यसको मतलव सेनामा भएका शङ्काहरू यति नै वेला छोड्नुपर्छ।’
‘तपाईहरू ट्रम्प र साम्राज्यवादीहरूसँग वा बोलिभरियन राष्ट्रिय सैनिक बल तथा मातृभूमिसँग कोसँग रहने निर्णय गर्ने बेला आएको छ। भेनेजुयलामाथि यसअघि कहिल्यै यस्तो चेतावनी आएको थिएन।’
मादुरोले राष्ट्रिय सङ्कट समाधान गर्न नसकेको बताउँदै उनको विकल्प खोज्न भन्दै प्रतिपक्षी दलको महिनौ लामो आन्दोलनको सामना गरेपछि संविधानसभाको निर्वाचन गराएका थिए।
सभाले विभिन्न कार्य विभाजन गरी काम सुरु गरिसकेको छ। अहिले सरकारको मुख्य भरोसा सेना भएको र सेनाले खुट्टा कमाउन नहुने मादुरोको ठहर छ।
तर प्रतिपक्षीले मादुरोलाई छाडेर आफूहरूको आन्दोलनलाई सहयोग गरी राष्ट्रियताको पक्षमा उभिन पटक पटक आग्रह गरिसकेको छ।
मादुरोले सेनालाई भीषण युद्ध गरेर अमेरिकी हस्तक्षेपको मुकाविला गर्न इमान्दारीसाथ लड्ने तयारी गर्न भेलामा निर्देशन दिए।रासस/सिन्ह्वा