
काठमाडौं : नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा दीपेन्द्र सिंह ऐरी नियुक्त भएका छन्।
आगामी सेप्टेम्वर ८ देखि १७ सम्म मलेसियामा हुने एसीसी यू-१९ एसिया कपको पूर्वी छनोटका लागि उनलाई कप्तान चयन गरिएको नेपाली टिमका टेक्निकल एलिलस्ट तथा म्यानेजर रमन शिवाकोटीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।
उनले नियमित कप्तान सन्दीप लामिछानेलाई प्रतिस्थापन गर्नेछन्।
यस्तै दीपेन्द्रको कप्तानीमा १४ सदस्यी टिम समेत घोषणा गरिएको छ। राष्ट्रिय टिमका प्रशिक्षक जगत टमामा र यू-१९ का प्रशिक्षक विनोद दासले टोली छनोट गरेका हुन्।
१४ सदस्यीय टोलीसँगै ४ जना वैकल्पिक खेलाडी पनि छनोट गरिएको छ। प्रारम्भिक चरणमा छानिएका २८ खेलाडीबाट अन्तिम टोलीको छनोट गरिएको हो।
एक महिना अघि सिंगापुरमा भएको आइसीसी यू-१९ विश्वकप छनोट खेलेको टिममा केही परिवर्तन गर्दै यसपटक टिम छनोट गरिएको छ।
त्यसबेला वैकल्पिकमा रहेका सन्दीप जोरा र विक्रम कुमार भुसाल १४ सदस्यी टोलीमा अटाएका छन् भने सुमित महर्जन र नन्दन यादवले पनि अन्तिम टोलीमा स्थान बनाएका छन्। विश्वकप छनौट खेलेका ललित नारायण राजवंशी, रिजल ढकाल र प्रकाश केसीलाई यो पटक वैकल्पिकको सूचीमा राखिएको छ।
यस्तै विश्वकप छनोट खेलेका आदिल खान टोलीबाट बाहिरिएका छन्। उनी वैकल्पिकमा समेत छैनन्।
१४ सदस्यी नेपाली टोली
दिपेन्द्र सिंह ऐरी (कप्तान)
सन्दिप लामिछाने
अनिल कुमार शाह
सन्दिप सुनार
पवन सर्राफ
रोहित कुमार पौडेल
प्रनित थापा मगर
शहाब आलम
मोहम्मद आशिफ शेख
किशोर महतो
विक्रम कुमार भूसाल
सन्दिप जोरा
नन्दन यादव
सुमित महर्जन
वैकल्पिक खेलाडी
ललित नारायण राजवंशी
प्रकाश केसी
रिजन ढकाल
कमलसिंह ऐरी