PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

बिरामी भए पनि डा. गोविन्द केसीले गरे सप्तरीका ८ सय भन्दा बढीको उपचार



सागर बुढाथोकी

बिरामी भए पनि डा. गोविन्द केसीले गरे सप्तरीका ८ सय भन्दा बढीको उपचार

काठमाडौंः डा. गोविन्द केसी सप्तरीका बाढी पीडितको स्वास्थ्य परीक्षण तथा राहत वितरण गरी आज काठमाडौं फर्किएका छन्।

विरामी हुँदाहुँदै गत बिहीवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षबाट उठेर सप्तरी गएका केसी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर चलाएर आज काठमाडौं फर्किएका हुन्।

दिनभर विरामीको उपचारका खटिएका केसीलाई बिहीबार राति विरामी भएपछि स्लाइन पानी चढाइएको थियो। खाने औषाधिले काम नगरेकाले केसीले नशाबाट  औषाधि लिइरहेका छन्।

शुक्रबार बिहान ठिक भएपछि काममा खटिएका डाक्टर केसीसँग  गएका विद्यार्थी नारायण कँडेलले जानकारी दिए।

डा. केसीले कञ्चनपुर नगरपालिका वडा नम्बर १ को स्वास्थ्य चौकीमा बसेर उपचार तथा राहत वितरण गरेका  कँडेलले बताए।

कँडेलले भने, ‘डाक्टर केसीसँग २ जना डाक्टर र हामी विद्यार्थीहरु थियौँ। ८०० भन्दा बढीले औषाधि र राहत पाएका छन्। डाक्टर केसीको नाम मात्र सुनेकाहरु उनलाई देख्दा खुशी छन्। उहाँलाई हेर्न मात्रै धेरै मानिसहरु आएका थिए।’

कँडेलका अनुसार धेरै बाढी पीडितहरुलाई ज्वरो, पेट, श्वासप्रश्वास, छाला, हाडजोर्नी, निमोनिया लगायतको समस्या छ।

चमार, मुसहर र डोम जातिको बसोबास रहेको क्षेत्रका मानिसहरुमा धेरै स्वास्थ्य समस्या रहेको कँडेलले बताए।

गत बिहीबार बिहानै डा. केसी सप्तरी जाने तयारीमा रहेपनि अकस्मात विरामी भएपछि राहत सामग्री बोकेर विद्यार्थीलाई पठाएर आफू भने दिउँसो सप्तरी गएका थिए।

चिकित्सकले नहिंड्न सुझाव दिए पनि केसी सप्तरी गएका थिए। २३ दिनपछि अनशन तोडेका केसी आफैं अस्वस्थ छन्।

कँडेलका अनुसार केसीले आफ्नै खर्चमा राहत सामग्री जम्मा पारेका थिए। ‌औषधि, लत्त्ताकपडा र खाद्यान्न बोकेर गएका केसीले सप्तरीमा पनि लत्ताकपडा किनेका थिए।

२०४४ सालमा सप्तरीको बरथवाहामा स्वास्थ्य शिविर चलाएका केसीले ७५ वटै जिल्लामा शिविर चलाइसकेका छन्। त्यसका साथै विश्वका विभिन्न मुलुकमा विपत पर्दा उनी उपचारका लागि आफ्नै खर्चमा पुग्ने गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell