PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

चितवनकाे भरतपुर अस्पतालमा डायलायसिस सेवा सुरु



रासस

चितवनकाे भरतपुर अस्पतालमा डायलायसिस सेवा सुरु

चितवन : चितवनको भरतपुर अस्पतालमा आजदेखि मिर्गौलाको डायलायसिस सेवा सुरु भएको छ। 

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवा शुभारम्भ गरिएको हो। 

आफ्नी आमा लिएर आएका बालकृष्ण थपलियाले चितवन मेडिकल कलेजमा तीन पटक डायलासिस गरिएको तर आठ उपकरणमध्ये पाँच बिग्रिएपछि पालो नपाएर सरकारी अस्पताल आएको बताए।

अस्पतालमा १२ उपकरण रहेकाले एकै पटक १२ जनाको मिर्गौलाको डायलासिस गर्न सकिने छ। 

मरासिनीका अनुसार सेवाका लागि छ प्राविधिकले तालिम लिएर आइसकेका छन्। अन्य छ जना तालिममा नै छन्।

सुरुमा दुई चरणमा २४ जनाको डायलासिस गरिने छ। थप प्राविधिक तालिम सकेर आएपछि दैनिक ३६ जनाको डायलासिस गरिने उनले बताए। 

ती उपकरण सरकारले खरिद गरिदिएको हो भने अन्य व्यवस्थापन अस्पताल विकास समितिले गरेको हो। 

समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बिरामीले दुःख पाएकाले यसअघिका स्वास्थ्यमन्त्री गगनकुमार थापासँग विशेष आग्रह गरेर बजेट निकासा गरी काम अघि बढाइएको बताए। 

जिल्लाका विभिन्न अस्पतालमा थोरै बिरामीको मात्र डायलायसिस हुने गरेको छ। भरतपुरका दुई मेडिकल कलेजमा १४ र रत्ननगरको मिर्गौलारोग केन्द्रमा छ वटा मात्र उपकरण छन्। 

निजी क्षेत्रका मेडिकल कलेजमा उपकरण बिग्रिरहने समस्याका कारण बिरामीले सास्ती व्यहोर्दै आएका बेला सरकारी अस्पतालमा नयाँ उपकरणसहित डायलायसिस सेवा सुरु भएपछि बिरामी लाभान्वित हुने भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell