काठमाडौं : सरकारले मन्त्रीको सङ्ख्या बढाएसँगै तिनका सुरक्षामा खटिने सुरक्षाकर्मीको सङ्ख्या पनि थपिँदो छ। जनतको शान्ति सुरक्षाभन्दा राज्यका उच्च ओहदाका व्यक्तिको सुरक्षामा सुरक्षाकर्मी परिचाल भएकाले समाजिक सञ्जालमा आलोचना समेत हुने गरेको छ।
सामाजिक प्रतिष्ठा र प्रभुत्व देखाउनका लागि भिआइपीले सुरक्षाकर्मीको दुरुपयोग समेत गर्ने गरेका छन्। जसको पछिल्लो ज्वलन्त उदाहरण बने भूमिसुधार मन्त्री गोपाल दहित। मन्त्री दहितले दाङ जाँदा जिल्ला प्रहरी प्रमुखले पर्याप्त सुरक्षाकर्मी र सवारी नपठाएको भन्दै सिडियो र प्रहरी प्रमुख माथि खनिएका थिए।
पचास जनाको मन्त्रिपरिषद, राष्ट्रपति, सभामुख, पूर्व प्रधानमन्त्री, पूर्व गृह मन्त्री तथा अन्यका लागि करिब तीनै सुरक्षा निकायबाट गरेर करिब ८ हजार सुरक्षाकर्मी परिचालित छन्। झिनामसिना कार्यक्रममासमेत भिआइपी र मन्त्री आफैँ पुग्ने रोगले सुरक्षा व्यवस्था मिलाउन थप कठिनाइ हुने गरेको सुरक्षाकर्मी नै स्वीकार्छन्। किनकि यस्ता कार्यक्रममका लागि थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने हुन्छ।
हरेक दिन नेपाल प्रहरीका ७ हजार ३ सय ५० जना पैदल गस्तीमा जुटेका हुन्छन्। ४ हजार ४ सय जना सवारी गस्तीमा। ३ हजार ४३ जना चेकिङमा सक्रिय रहन्छ। २ हजार ३ सय ४४ प्रहरी सरकारी भवन र प्रतिष्ठानको सुरक्षामा खटिँदा दैनिक २५ देखि ३० हजार प्रहरी अनवरत तैनाथ हुने देखिन्छ।
यसरी दैनिक परिचालन गर्ने सुरक्षाकर्मी मध्येबाटै करिब ८ देखि १० प्रतिशत प्रहरी त विशिष्ट व्यक्तिको सुरक्षामा नै खटिने गरेको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ। उनीहरुको सार्वजनिक र निजी जीवनमा समेत सुरक्षाकर्मीको खटाइ हुने गर्छ।
विशिष्ट व्यक्तिका निवास तथा सुरक्षामा दैनिक १ हजार २ सय ५७ प्रहरी खटिने गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी पुष्कर कार्कीले जानकारी दिए। उनका अनुसार भिआइपी व्यक्तिगत सुरक्षा गार्ड (पिएसओ) १ सय ७९ जना खटिएका छन्। उद्घाटन देखि अन्य कार्यक्रममा जाँदा उनीहरुको सुरक्षा र सवारी स्कटिङ प्रहरीको लागि चुनौति बन्दै गएको छ।
५ सय ६३ जना प्रहरी भिआइपीको स्कटिङमा दैनिक रुपमा खटिने गरेको प्रवक्ता कार्कीले बताए। नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीका जवान पनि उतिकै मात्रमा भिआइपीको सुरक्षामा खटिने गरेका छन्।
सशस्त्र प्रहरीले भने पहिलेको तुलानमा भिआइपीका लागि सुरक्षाकर्मी कटौती गरेको जनाएको छ। सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजु अर्याल भन्छन्, 'अहिले हामीले केही सुरक्षाकर्मी कम गरेका हौं।'
प्रवक्ता अर्यालले करिब ३ सय जना प्रहरी भिआइपीको ब्यक्तिगत सुरक्षामा मात्र परिचालन गरेको बताए। सामाजिक प्रतिष्ठा र पहुँच देखाउनै करिब १ सय भन्दा बढी सांसदले 'व्यक्तिगत सुरक्षा' भन्दै सुरक्षाकर्मी राखेका छन्।
सुरक्षाविद् गेजा शर्मा वाग्लेले नेपालको सन्दर्भमा भिआइपीलाई जुन अनुपातमा सुरक्षाकर्मीको खटाइएको छ त्यसअनुसारको असुरक्षा नरहेको बताए। उनले भने, 'यो राज्यले गर्ने सुरक्षाकर्मीको दुरुपयोग हो। अर्कोतर्फ भिआइपीले आफ्नो सेवा र प्रतिष्ठाको लागि सुरक्षाकर्मीको दुरुपयोग गरेका हुन्।'
भिआइपीको सुरक्षामा कति खर्च हुन्छ त? नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खर्च कति हुने गर्छ खुलाएको छैन। तर, तीन वर्षअघिमात्रै यस्ता सुरक्षामा राज्यको वर्षेनी ३ अर्बभन्दा बढी खर्च हुने गरेको संसदको सार्वजनिक लेखा समितिमा सुरक्षा निकायबाट जानकारी दिइएको थियो।