PahiloPost

Feb 1, 2025 | १९ माघ २०८१

'चरी' इन्काउन्टर गर्ने पुष्कर कार्कीले सम्हाले सिआइबी प्रमुखको जिम्मेवारी



सविन ढकाल

'चरी' इन्काउन्टर गर्ने पुष्कर कार्कीले सम्हाले सिआइबी प्रमुखको जिम्मेवारी

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुखको जिम्मेवारी आइतबारदेखि डिआइजी पुष्कर कार्कीले सम्हालेका छन्। 
भदौको पहिलो सातामा सरकारले बढुवा भएका १५ डिआइजीहरुलाई विभिन्न ठाउँमा पदस्थापन गर्दा वरियता क्रममा तेस्रो स्थानमा रहेका कार्कीलाई सिआइबीको जिम्मेवारी दिएको हो। 

जिम्मेवारी सम्हालेपछि पहिलोपोस्टसँग कुरा गर्दै कार्कीले सीआइबी जस्तो अपराध अनुसन्धान गर्ने प्रहरीको विशिष्ट विभागको गरिमा नमर्ने र जनविश्वास अनुसार नै काम गर्ने बताए। 

डिआइजी कार्कीले भने, 'ब्युरोले हेर्ने संगठित अपराध, वित्तीय अपराध र पुराना जघन्य अपराधमा दह्रो भएर काम गर्छु।'

डिआइजी सर्वेन्द्र खनाललाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख बनाएर पठाएपछि कार्कीले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए। 

२०४६ साल माघमा प्रहरी निरीक्षकबाट संगठनमा प्रवेश गरेका कार्कीसँग काठमाडौँ, कास्की, गोरखालगायत जिल्लाको प्रमुख भएर काम गरेको अनुभव छ। 

डिआइजी कार्की अपराध अनुसन्धानमा कुनै सम्झौता नगर्ने दावी गर्छन्। उनी भन्छन् 'अपराधको अनुसन्धान गर्दा कसको पछाडि को छ, के छ जान्दिनँ। अपराधको सत्यतथ्य बाहिर ल्याएर छाड्छु।'

सम्बन्धित समाचार : प्रहरीको गोलीबाट गुन्डा नाइके 'चरी'को मृत्यु


गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’को इन्काउन्टर हुँदा कार्की महानगरीय अपराध महाशाखाको प्रमुख थिए। यो घटनासँगै संगठनभित्र र बाहिर कार्कीको चर्चा झनै बढेको थियो। 

ब्यूरोमा आफू रहँदा पनि अपराध अनुसन्धानको क्रममा केही गरेर देखाउने उनको दावी छ। चरी इन्काउन्टरपछि कार्की यूएनको पुलिस मनिटरिङ सम्बन्धी काम गर्न लाइबेरिया गएका थिए।

डिआइजी नवराज सिलवाल केही महिना विदामा बसेकाले व्यूरो निमित्त प्रमुख एसएसपी शेरबहादुर बस्नेतको भरमा चल्दै आएको थियो। सिलवाल प्रमुख भएर व्यूरोमा रहँदा नक्कली डाक्टर र पाइलट प्रकरण र ३३ केजी सुन काण्डले चर्चा कमाएको थियो। सिलवाललाई राष्ट्रिय सुरक्षा परिषद्माक सरुवा गरिएपछि कार्कीलाई ब्युरोमा पठाइएको हो।  डिआइजी पुष्कर कार्की, सर्वेन्द्र खनाल र रमेश खरेल प्रहरीमा एउटै ब्याची हुन्।  

यसैबीच, डिआइजी मनोज न्यौपानेले पनि आइतवार बिहानदेखि नै प्रहरी प्रवक्ता जिम्मेवारी सम्हालेका छन्।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell